गान्तोक। सिक्किम घुम्न आएका एक पर्यटकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। पुलिसले जानकारी गराए अनुसार कलकत्ता निवासी पार्थ प्रोतिम नाथ,उनकी पत्नी राजश्री ब्यानर्जी र घरमा काम गर्ने एक जना उत्तर जिल्ला भ्रमणको निम्ति गत ४ मईको दिन गएका थिए। उनीहरू लाचेनको एक होटलमा बसेका थिए। उत्तर जिल्लाको भ्रमणको क्रममा ४ मईको दिन उनीहरू लाचेनको एक होटलमा बसेका थिए। गत ५ मईको दिन मृतक पार्थको शारिरीक अवस्था ठीक नभएको कारण उनलाई होटलको कोठमा छोडेर उनकी पत्नी गुरूदोङमार घुम्न गएको पुलिसको भनाइ रहेको छ। उनीहरू गुरूदोङमार घुमेर अपरान्ह्र ३ बजी होटलमा आइपुगेका थिए। होटलमा आइपुग्दा मृतकले स्वास् लिनमा केही समस्या भइरहेको आफ्नो पत्नीलाई जानकारी गराए। त्यसपछि मृतकलाई पोर्टएवल अक्सिन दिएको तर स्वास्थ्यमा केही सुधार नआएपछि नजिकको सेनाको अस्पतालमा उपचारको निम्ति लगिएको थियो। तर सेनाको अस्पतालमा उपचार हुन नसकेपछि उनलाई चुङथाङको प्राथमिक चिकित्सा केन्द्रमा पठाइएको पुलिसको भनाइ रहेको छ। चुङथाङ प्राथमिक चिकित्सा केन्द्रमा पुऱ्याएर जाँच गर्ने क्रममा मृत्यु भइसकेको थाह लाग्यो। मृतक केही वर्षदेखि वात रोगले ग्रसित रहेको र उनको उपचार चलिरहेको पुलिसले अवगत गराएको छ। मृतकको शवलाई पुलिसले पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पतालमा पठाएको छ।