गान्तोकः राज्यका कलाकारहरूले देश- विदेशमा गएर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। यसै क्रममा सामुएल कार्कीढोलीले मुम्बईमा आयोजित देशको सबैभन्दा लोकप्रिय रियालिटी शो- इन्डिया डान्स पावरमा उत्कृष्ट कोरियोग्राफरको पुरस्कार प्राप्त गरेका छन्। सिक्किम राज्य फर्किने क्रममा आज उनलाई रम्फूको प्रवेशद्वारमा सिक्किम युइनाटेड टुरिज्म अर्गनाइजेसन (सुटो), इम्पोरियर डान्स एकाडमी लगायत स्थानीय नागरिकहरूले भव्यरूपमा स्वागत जनाए।
उनले जानकारी गराए अनुसार, गत केही महिना अघिदेखि अनलाइन कोरियोग्राफरको प्रतियोगिताको आयोजना भएको र उनले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई बोलाएको थियो। त्यहाँ विभिन्न राज्यबाट कलाकाहरूले उक्त प्रतियोगितमा सहभागिता जनाएको र सिक्किमले उत्कृष्ट कोरियोग्राफरको पुरस्कार प्राप्त गर्न सकेको बताए।
उनीसँगै राज्यबाट अन्य तीनजनाले पनि सहभागिता जनाएको तर फाइनलमा पुगेर पराजित बने। सिक्किम जस्तो सानो ठाउँबाट गएर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी बन्नु र पुरस्कार प्राप्त गर्नु धेरै कठीन रहेको उनले अनुभव साझा गरे। देशको विभिन्न राज्यबाट गएका राम्रा-राम्रा कलाकार साथै बलिवुडका उत्कृष्ट कोरियोग्राफरहरूसँग मिलेर काम गर्ने अवसर पाउँदा धेरै कुरा सिक्न पाएको बताए।









