काठमाण्डौँः नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना दलका नेताहरू मुछिएपछि सीपीएन यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएका छन्। उनले आज शनिवार प्रचण्डलाई भेटेर यूएमएल नेता र परिवारका सदस्यमाथिको छानविनबारे प्रश्न समेत उठाएका छन्। भेटलगत्तै काठमांडूमा आयोजित सीपीएन एम के सम्वद्ध दलित मोर्चाको कार्यक्रममा प्रचण्डले आफूले भ्रष्टाचारीलाई कारबाही बढाउन खोज्दा दबाब खेपिरहेको बताए। उनले भ्रष्टाचारीमाथि कारबाही नरोकिने बताउँदै भने, यो टेलर मात्र हो सिंगो फिल्म देखिदेछ। घेराबन्दी, धम्की र दबाबको सामना गरिनेछ भ्रष्टाचारीलाई छाड्दिनँ।
प्रचण्डसँगको भेटपछि ओलीले पत्रकारको प्रश्नमा आफूले कसैलाई कारबाहीबाट बचाउन नलागेको दाबी गरे। तर, प्रचण्डसँग नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका विषयमा चासो राखेको भन्नेबारे सोध्दा बोल्न मानेनन्। नक्कली शरणार्थी प्रकरणमा यूएमएलका सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी मुछिएका छन्। उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। यूएमएल उपाध्यक्ष समेत रहेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका अलावा ओलीका कतिपय विश्वासपात्र मानिएका अधिकारीहरु पनि छानविनको दायरामा ल्याइएपछि दबाब बढाइरहेका छन्। दशौं करोड नेपाली रुपैयाँ ठगी भएको नक्कली शरणार्थी प्रकरण अहिले नेपालमा निकै चासोको विषय बनेको छ।