उर्जाशील पत्रकार दीप मिलन प्रधान देवऋषि नारद पुरस्कारद्वारा सम्मानित
मिरिक: गणतन्त्रको चौथो अंग मानिएका पत्रकारहरुको सङ्घर्ष र योगदानको मुल्यांकन गर्ने उदेश्य राखेर विश्व संवाद केन्द्र खरसाङको आयोजनामा आज मिरिकको भूतपूर्व सैनिक संगठन भवनमा देवऋषि नारद जयन्ती भव्यरुपमा सम्पन्न भयो। विशिष्ट साहित्यकार राजबहादुर राईको अध्यक्षतामा तथा वाईएन ढकालको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा मिरिक प्रेस क्लबका पत्रकारहरु लगायत वरिष्ठ नागरिकहरु उपस्थित थिए।
यस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संस्कृतिक परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरासियाले ऋषि नारदमुनि विश्वकै पहिलो पत्रकार भएको बताउँदै वर्तमान समयमा पत्रकारहरुको दायित्व, भूमिका अनि जिम्मेवारी धेरै रहेको कारण पत्रकारहरुले निष्पक्ष निर्भिक अनि स्वतन्त्रतारुपमा पत्रकारिताको धर्म पालन गरि सहि सूचना अनि सन्देशलाई जनमानसबिच पस्किन पर्ने आवश्यकता माथि जोड दिए। पत्रकार मनोहर शर्माद्वारा संचालित कार्यक्रममा यस वर्षको देवऋषि नारद पुरस्कार मिरिकका उर्जाशील पत्रकार दीप मिलन प्रधानलाई प्रदान गरियो। दीप मिलन प्रधानले १० कक्षाका विद्यार्थी छँदा देखि नै आजभोलि दैनिक समाचारपत्रबाट पत्रकारिता शुरु गरेका हुन्l भोली कार्यक्रमलाई मुख्य अतिथि वाईएन ढकालले मिरिकको इतिहासमा पहिलो पटक देवऋषि नारद जयन्ती पालन गरिएकोमा खुशी व्यक्त गर्दै पौराणिक कालमा नारदमुनिले पत्रकारको अहम भूमिका निर्वाह गरेको बताए। यसरी नै साहित्यकार राजबहादुर राईले देवऋषि नारदलाई आदर्श पत्रकारको रुपमा लिन सकिने बताउँदै आजको कार्यक्रमले सबै पत्रकारहरुको मुल्यांकन भएको धारणा व्यक्त गरे।










