कैयौँ पटक गरिएका युद्धविराम तोडिएको पृष्ठभूमिमा साउदी अरबको मध्यस्थतामा सुडानका द्वन्द्वरत पक्षबीच शनिवार पहिलो प्रत्यक्ष वार्ता हुन लागेको छ। सुडानको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जेद्दाहमा हुन लागेको “सहमति पूर्वको वार्ता” को अमेरिका र साउदी अरबको संयुक्त वक्तव्यले स्वागत गरेको छ। खार्टूममा शुक्रवार पनि लडाइँ जारी रहेका रिपोर्टहरू आएका थिए। मानवीय सङ्कटसम्बन्धी विषयलाई सम्बोधन गर्नेतर्फ वार्ता लक्षित रहने सुडानको सेनाले जनाएको छ। वार्ताबारे आरएसएफले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
शक्तिका लागि सङ्घर्ष
गम्भीर मानवीय सङ्कटबीच संयुक्त राष्ट्रसङ्घ र सहायता निकायहरूले वार्ताका लागि दबाव दिइरहँदा जेद्दाहमा संवादमा संलग्न हुन आफ्ना दूतहरू पठाएको सेनाले पुष्टि गरेको छ। करिब तीन सातायता जारी भीषण लडाइँका कारण सयौँ मानिस मारिएका छन् भने झन्डै साढे चार लाख सर्वसाधारण विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन सङ्ठन आईओएमका अनुसार कुल एक लाख १५ हजार मानिसले छिमेकी देशहरूमा शरण मागेका छन्। सुडानका सैनिक कमाडर जेनरल फत्ताह अल-बुर्हान र हेमेद्ती नामले पनि चिनिने आरएसएफका जेनरल मोहम्मद हमदान दगालोबी सत्ताका कडा सङ्घर्ष चलिरहेको छ। “द्वन्द्वरत पक्षलाई युद्धविराम गराउने र द्वन्द्वव अन्त्य गराउने दिशामा वार्ता गर्न तथा राष्ट्र एवं जनताको स्वार्थअनुसार अघि बढ्न” अमेरिका र साउदी अरबले वक्तव्यमार्फत् अपिल गरेका छन्। सुडानका “सबै पक्ष समेटिने गरी विस्तारित वार्ता प्रक्रिया” को पनि वक्तव्यमा अपेक्षा गरिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार लडाइँको शुरूका ११ दिनमा मात्रै करिब १९० जना बालबालिका मारिएका र १,७०० घाइते भएका छन्। यो सङ्ख्या खार्टूम र डार्फरमा रहेका स्वास्थ्य संस्थाहरूले उपलब्ध गराएका विवरणमा आधारित हो। “वास्तविकता झन् खराब हुन सक्छ,” उनले थपे। भीषण लडाइँका कारण प्रभावितसम्म अत्यात्वश्यक सहायता सामग्री पुर्याउन पनि कठिन भएको छ।