गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले मणिपुर राज्यको वर्तमान स्थितिमाथि आफूले व्यक्तिगत रूपमा मणिपुरका मुख्यमन्त्री एन. बिरेन सिंहसित कुराकानी गरेको बताएका छन्। अहिले स्थिति सामान्य रहेको जनाउँदै मुख्यमन्त्रीले सिक्किमका विद्यार्थी तथा नागरिकहरूलाई सिक्किम सरकारको पक्षबाट हरसम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्।
आज आफ्नो आधिकारिक पेसबुक पेज मार्फत मुख्यमन्त्री तामाङले मणिपुरमा रहेका सबै सिक्किमेली नागरिकहरूलाई आफ्नै घरभित्र तथा कुनै सुरक्षित स्थानमा रहने आग्रह गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गरिने बताएका छन्।मणिपुरका विधायक रामेश्वर सिंह अनि पीआरओ, मुख्यमन्त्री कार्यालय आरएम प्रधानले स्थितिको समन्वयन अनि निगरानी गरिरहेको जनाउँदै असुविधामा परेको खण्डमा नागरिकहरूले ७०८५४३६९८३/८७३०९६५०५९/३९७३५१-२३३३३ नम्बरमा सम्पर्क गर्नसक्ने पनि जानकारी गराइएको छ ।उल्लेखनीय छ, मणिपुरमा आदिवासी र मेड़ती समुदायबीच गत केही दिनदेखि तनाउको स्थिति छ। गैर-आदिवासी मेइती समुदायलाई अनुसूचित जातिको मर्यादा प्रदान गरिनु पर्ने मागको विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले आदिवासी एकजुटता मार्च गत ३ मईको दिन बुधवारको दिन निकालेको थियो यसै अवधि दुई समूहबीच हिंसा भड्किएको थियो। वर्तमान मणिपुर राज्यको ८ वटा जिल्लामा हिंसा भड्किएको छ। मणिपुरका राज्यपालले हिंसाग्रस्त क्षेत्रहरूमा दंगाकारीहरूलाई देख्ने बित्तिक्कै गोली ठोक्ने राज्य सरकारको फसेलालाई स्वीकृति दिएका छन्। हिंसाग्रस्त क्षेत्रमा १४४ धारा लागू गरिएको छ भने पाँच दिनको निम्ति पनि इन्टरनेट सेवा बन्द गरिएको छ।