गान्तोकः पूर्व सिक्किमको भारत-चीन अन्तरराष्ट्रिय सिमानाको सबैभन्दा नजिकको कुपुप गाउँले भारतीय सेनाको ग्रामीण सेवा र सहयोगको निम्ति आभार प्रकट गर्दै कुमाउ रेजिमेन्टको कार्यलाई सराहना गरेर सम्मान जनाएको छ। कुपुप गाउँ प्रमुख, ग्राम पञ्चायत र स्थानीय जनताको पक्षबाट आज बुद्ध जयन्तीको पावन अवसरमा कुमाउ रेजिमेन्टद्वारा पूर्ण रूपमा मरम्मत गरेर नवनिर्माण गरिदिएको सामुदायिक भवन उद्घाटनपछि सेनालाई सम्मानित गरेको छ। १५औं बटालियन कुमाउ रेजिमेन्ट (इन्दोर) ले आम नागिरकहरूसित आपसी सद्भावना विकासको उद्देश्यले कुपुप गाउँको सामुदायिक भवन निर्माण गरिदिएर सहयोग गरेको छ। भारतीय सेनाका ब्रिग्रेडियर एसएस धालिवाल एससी वाइएसएमको हातबाट सामुदायिक भवनको उद्घाटन सम्पन्न भयो। यस अवसरमा ब्रिग्रेडियर धालिवाल अनि सीओ मलय बैद्यलाई कुपुप गाउँले अभिनन्दन जनायो। जसमा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाद्वारा लिखित प्रसंशा पत्र अनि ग्राम पञ्चायतबाट सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ बुढा निमा शेर्पाले भारतीय सेनाकै भरमा कुपुप गाउँले अहिलेसम्म रोजी-रोटी र जिविकोपार्जनको बाटो सहज रूपमा धान्न सकिरहेको बताए। उनले कुपुप जस्तो दुर्गम गाउँमा कुनै पनि भर अभर दुःख पीर जे पर्दा पनि भारतीय सेनाले नै भरथेक गरिदिएकोमा ब्रिग्रेडियरलाई हार्दिक आभार प्रकट गरे। भारत-चीनको सबैभन्दा नजिकको सीमाना गाउँ कुपुपमा धेरै कुराको अभावहरू रहेको तर त्यसलाई समाधानको बाटो सहज गरिदिने भारतीय सेनासित गाउँलेहरू नङ र मासु सरह मिलेर हातमा हात साथमा साथ भएर कार्य गरिरहेको बताए। सेनाले बनाइदिएको यो सामुदायिक भवनले गाउँलाई ठूलो गुण भएको अनि गाउँलेहरूलाई विहे, मरौ, पुजा जस्ता सामाजिक कार्यको निम्ति सहज बनेकोमा खुसी व्यक्त गरे। अर्कोतिर कुपुप वार्डका पञ्चायत सदस्य मिङ्गमा लह्मु शेर्पाले सेनाको सहयोग र साथको निम्ति जनताको तर्फबाट आभार प्रकट गरिन्। उनले भारतीय सेनालाई पनि गाउँको साथ सधैं रहने बताइन्। सेनाको सहयोगले आज सामुदायिक भवन निर्माण गरिएको र गाउँलाई ठुलो सहयोग हुने बताइन्। यसैगरि नाथाङ ग्राम पञ्चायत एकाईको अध्यक्ष पेमा शेर्पाले आफ्नो सम्बोधनमा सेनाको सहयोग र साथको निम्ति गाउँलेहरू आभारी रहेको बताइन्। यसैगरि उनले पञ्चायतको पक्षबाट पनि विकास र गाउँको हितको निम्ति नयाँ प्रकारले सम्बन्धित निकायबाट कार्य गर्ने प्रक्रिया शुरु गरेको बताइन्।
अर्कोतिर सेनाको पक्षबाट ब्रिगेडियर धालिवालले जनतालाई धन्यवाद दिए। उनले सेनाले कुनै गुण नगरेर सेनाको कर्तव्य जनताको सेवा गर्न रहेको कुरालाई नै पालन गरेको बताए। उनले आफ्नो कार्यकालमा जनताको साथ र सहयोगको निम्ति आभार प्रकट पनि गरे। कार्यक्रममा पर्यटन हितधारक फुर्बा शेर्पा, सेनाका जवानहरू, स्थानीय गाउँलेको बाक्लो उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गाउँलेहरूले क्षेत्रलाई पर्यटकीय विकासको रूपमा पनि अघि बढाउने माग गरिरहेका छन्। जसमा भाइब्रेन्ट भिलेज नीतिमा यो गाउँलाई पनि पारिनुपर्ने माग तथा गाउँको नजिक रहेको हात्ती पोखरीलाई पर्यटकको निम्ति खोलेर युवाहरूलाई अवसर सिर्जना अनि रोजगारको माध्यम बनाइनुपर्ने पनि माग दोहोराएका छन्। भारत-चीन र भोटाङको चर्चित विवादास्पद सीमाना ट्राइजङ्क्सन पाँच किलोमिटरको दुरीमा तथा लगभग ३४ किलोमिटरको दुरीमा चीन र भारतीय सेनाबीच हुने तनाउ क्षेत्र डोकलामबाट सबैभन्दा नजिकको भारतीय गाउँ पनि हो कुपुप, जहाँ 3 सय घरधुरी रहेका छन्।