खरसाङ: खरसाङको २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पाको पक्षमा चुनावी रैली सम्पन्न भएको छ। खरसाङ देवराली समष्टिको भागोप्रमोका पदाधिकारीहरू र कार्यकर्ताहरुले प्रार्थी श्याम शेर्पाको पक्षमा खरसाङको देवरालीदेखि चिमनीसम्म लगभग अढ़ाई किलोमीटरसम्म पैदल रैली आयोजना गरेका छन्। उक्त रैलीमा खरसाङ देवराली समष्टिका प्रार्थी श्याम शेर्पा लगायत समष्टीको पदाधिकारीहरू उपस्थित रहेका थिए। यसावधि भागोप्रमोको प्रार्थी श्याम शेर्पाले घर घर पुगेर मानिसहरूलाई भेट्दै भोट दिने अपिल गरेका छन् भने उनको गाउँ घरमा पुगेर जनताको समस्याहरू पनि बुझ्ने प्रयास गरिरहेका छन्। श्याम शेर्पाको पक्षमा समर्थन रैलीपछि देवरालीमा एक चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा खरसाङ देवराली समष्टिका सभापति बीबी राईको अध्यक्षता र ललिता छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ भने स्थानीय प्रतिनिधि बलिराजले स्वागत सम्भाषण राखेका थिए। उक्त चुनावी सभालाई भागोप्रमो खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पा, समष्टीको नारी शक्ति सभापति सुष्मा मुखिया, समष्टिको को-अर्डिनेटर सुर्यकमल छेत्री, युवा शक्तिको को-अर्डिनेटर दिपेस थापा लगायत सभाध्यक्ष बीबी राईले वक्तव्य राखेका थिए। भागोप्रमो खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पाको पक्षमा सम्पन्न चुनावी रैली र चुनावी सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दिपेस थापाले आज भागोप्रमो खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पाको पक्षमा चुनावी रैली सम्पन्न भएको र उक्त रैली देवरालीदेखि चिमनी परिसम्म गरिएको बताएका छन्। उनले रैलीपछि चुनावी सभा पनि सम्पन्न भएको जसमा प्रार्थी श्याम शेर्पा लगायत अन्यहरूले वक्तव्य राखेको जानकारी गराउँदै हामी सम्पूर्ण समष्टीका प्रतिनिधिहरू हाम्रो प्रार्थी श्याम शेर्पालाई जिताउन कम्मर कसेको बताएका छन्।