गान्तोकः सिक्किम लोक सेवा आयोग (एसपीएससी) परीक्षामा भएको अनियमिततामाथि जाँच गर्न सरकारद्वारा गठित कमिटीको रिपोर्ट सार्वजनिक गर्नुपर्ने सिटिजन एक्सन पार्टीका प्रमुख संयोजक गणेश राईले माग गरेका छन्। सरकारले गठन गरेको जाँच कमिटीको रिपोर्ट सार्वजनिक गरेर दोषीमाथि कारबाही गरिनुपर्छ भन्दै सिक्किमका युवाहरूको भविष्यसित सरकारले खेलबाड गर्न नपाउने गणेश राईले चेताउनी दिए।
जाँच रिपोर्ट सार्वजनिक गराउनुको साटो प्राथमिक चरणको परीक्षामा बस्ने सबैलाई अर्को चरणको परीक्षामा लाने अधिसूचना एसपीएससीले निकाल्नु दुर्भाग्यपूर्ण विषय हो भन्दै पहिलेको परीक्षामा गडबडी गराउने अधिकारीले फेरि गडबडी गर्दैनन् भन्ने कुनै ग्यारेन्टी नभएको उनले बताए। अरुणाचल प्रदेशमा यस्तै विषयलाई जाँच गर्न सरकारले सीबीआईलाई जिम्मेवारी दिएको थियो भन्दै सिक्किममा युवाहरूको भविष्यमाथि खेलबाड हुँदा सरकारले दोषी अधिकारीहरूमाथि किन कारबाही गरेन भन्ने गणेश राईले प्रश्न गरेका छन्।
सरकारको एसपीएससी विवादमा सरकारको कार्यप्रणालीलाई दुर्भाग्यपूर्ण बताउँदै गणेश राईले यसबारे घोर आपत्ति जनाएका छन्। उनले सिक्किमका युवाको पक्षमा एसपीएससी परीक्षा पुनः सञ्चालन हुनु पर्ने साथै अघिल्लो परीक्षामा गडबड गराउने माथि जाँच रिपोर्टको आधारमा कारबाही गर्नुपर्छ भन्ने माग गरेका छन्। जानकारी गराइन्छ, केही महिनाअघि सिक्किम राज्यमा डीएसपी र उप सचिव पदका लागि एसपीएससीले परीक्षा आयोजन गरेको थियो। तथापि यो परीक्षामा अनियमितता भएको र परीक्षार्थीलाई अन्याय भएको आवाज उठेपछि सरकारले यसको जाँचका लागि उच्चस्तरीय कमिटी गठन गरेको थियो।
उक्त कमिटीको रिपोर्ट सार्वजनिक नभइ हिजो एसपीएससीले एउटा नयाँ अधिसूचना जारी गरेर प्राथमिक परीक्षामा बस्ने सबै मुख्य परिक्षाका लागि उत्तीर्ण भएको जानकारी सार्वजनिक भएको थियो जसको आज सिटिजन एक्सन पार्टीले विरोध जनाएको हो।