दार्जीलिङ-बिजनबारी रोपवे लाइनको पुन:संचालनका लागि सांसद राजु बिष्टको पहल

00-1-Raju-Bista-MP-1-1

दार्जीलिङ: यसै वर्ष जनवरी महिनामा सांसद राजु बिष्टले बिजनबारी क्षेत्रमा भ्रमण गरेका थिएl सो अवधिमा केही चिन्तित नागरिक, संगठन, पार्टीका नेता तथा कार्यकर्ताहरूले पुरानो दार्जीलिङ-बिजनबारी रोपवे लाइनको पुन:संचालन गर्न सहयोग गर्ने अनुरोध गरेको सांसद राजु बिष्टले बताएका छन्। सोही अनुरोधपछि उनले केन्द्रीय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरी समक्ष सो अनुरोध पुऱ्याएको प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l

विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘ मैले मन्त्री नितिन गडकरीलाई जानकारी गराएको थिएँ, सन् १९३९ मा निर्मित दार्जीलिङ-बिजनबारी रोपवे लाइनले बिजनबारीलाई एउटा कारोबारी नगरको रूपमा विकास गर्न ठूलो मद्दत पुऱ्याएको थियो। यस रोपवे-ले ८० को दशकको मध्यसम्म क्षेत्रको पुनर्विकास अनि प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न जारी राखेको थियो, जब दार्जीलिङ शहर र बिजनबारीबिच मोटर यातायातका लागि सड़क थिएन। बिजनबारी र वरिपरिका क्षेत्रबाट र सम्म सामानहरू ढुवानीको एकमात्र साधन यो ८ माइल लामो रोपवे नै थियो। तर, अब दुई दशकभन्दा धेरै समयदेखि यो रोपवे बन्द छl’ यसलाई पुन:संचालन गर्न केन्द्रीय मन्त्री नितिन गडकरीलाई केन्द्र सरकारको पर्वतमाला योजनाअन्तर्गत यस रोपवेलाई पुन:संचालन गराउन सहयोग गर्ने अनि यसलाई सामान र यात्रुहरू दुवैको ढुवानीका लागि विकसित गर्ने अनुरोध गरेको उनले बताएका छन्।

आज, केन्द्रीय मन्त्रीबाट यस बारेमा पत्र प्राप्त गरेको उनले विज्ञप्ति मार्फत जानकारी गराएका छन्l सो पत्रलाई उजागर उनले यसो भनेका छन्, ‘जसमा उहाँले मलाई सूचित गर्नुभएको छ, “मैले यस मामिलाको जाँच गराएको छु। तपाईंको अनुरोध राज्य सरकारलाई बुझाइसकिएको छ र सड़क परिवहन एवं राजमार्ग मन्त्रालयद्वारा जारी मानक संचालन प्रक्रियाअनुसार दिनाङ्क ७ मार्च २०२२ मा पठाइएको पत्र मार्फत पर्वतमाला परियोजनाको रोपवे/वैकल्पिक/इनोभेटिभ मोबिलिटी परियोजनाहरूअन्तर्गत माथि उल्लेखित परियोजना शुरु गर्नका  लागि उनीहरूको सहमति बुझाउने अनुरोध गरिएको छl राज्य सरकारबाट सहमति प्राप्त हुनेबित्तिकै थप आवश्यक कार्यवाही गरिने छl’

यस रोपवे-को निर्माण यातायातको उद्देश्यले मात्रै महत्त्वपूर्ण नभएर, यसले बिजनबारी क्षेत्रमा पर्यटन विकासको दिशामा ठूलो योगदान पुऱ्याउने उनले बताएका छन्। यसले किसानहरूलाई उनीहरूका कृषिगत उत्पादनहरू दार्जीलिङसम्म सजिलै ढुवानी गर्नमा मद्दत गर्नेछ, अनि क्षेत्रमा व्यापार एवं वाणिज्य फल्नफुल्नमा मद्दत पुऱ्याउने उनको भनाइ छ। विज्ञप्तिमा उनले अझ भनेका छन्, ‘यो पर्यावरण अनुकूल पनि हुनेछ, किनकि यसले दार्जीलिङ र बिजनबारी बिच यात्राको समयमा लगभग ३  घण्टाको बचत गर्नमा मद्दत गर्नेछ र यसले इन्धन बचतमा मद्दत पनि गर्नेछ। साथै, यसले दार्जीलिङमा समग्रतामा ट्राफिकको लोड पनि घटाउने छ, र हाम्रा सड़कहरूबाट भीड़भाड़ हटाउनमा मद्दत मिल्नेछl’  पश्चिम बङ्गाल सरकारले यस अनुरोधमाथि सकारात्मक ढङ्गले विचार गर्ने साथै यस परियोजनाका लागि चाँडो सहमति प्रदान गर्नेछ भन्ने आशा सांसद राजु बिष्टले गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गडकरीप्रति दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रको हरेक तथा सबै पक्षको विकासलाई उच्च प्राथमिकता दिएको भन्दै आभार प्रकट गरेका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement