श्रमिकहरूलाई पीएफ र ग्राजुएटी भुक्तानको लागि मालिक पक्ष राजी
खरसाङ: खरसाङ खण्ड अन्तर्गत मरियनबारी चियाबारीमा श्रमिकहरूले पाउनु पर्ने पीएफ र ग्राजुएटी भुक्तानको विषयमा सिलगढीमा मालिक पक्ष र युनियनमाझ सभा सम्पन्न भएको छ। मरियनबारी चियाबारीमा पीएफ र ग्राजुएटीको मागमा श्रमिकहरूद्वारा लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका थिए भने उक्त चियाबारीलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भ्रातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र मालिक पक्षमाझ सभा सम्पन्न भएको छ। उक्त सभामा मरियनबारी चियाबारीको मालिक पक्ष अनि युनियनको पक्षमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय सदस्य एवं खरसाङ महकुमा समितिको उपाध्यक्ष साथै तीनधारे महानदी जोनलको सांगठनिक सचिव जनक छेत्री, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, मरियनबारी चियाबारी युनिटको सभापति बुध्द घिसिङ र अन्यहरू साथै जीटीएको कार्यकारी सभासद कल्पना प्रधान आदि उपस्थित रहेका थिए। उक्त सभामा मालिक पक्षले श्रमिकहरूले पाउने पीएफ र एरियर यसै मई महिनाभित्रमा गत वर्ष जुलाई, अगस्त र अक्टोबरको जमा गर्ने निर्णय गरेका छन्। त्यसरी नै यस वर्ष अप्रेलको जून महिनामा जमा गर्ने र मई र जूनको जुलाईभित्रमा जमा गर्न मालिक पक्ष राजी भएका छन्। सभाको निर्णय अनुसार मरियनबारीको चियाबारी श्रमिकहरूले २०१९ देखि नपाएको ग्राजुएटीको रकम विस्तारै भुक्तान गर्ने भएको छ। ग्राजुएटी भुक्तानको लागि जून २०२३ मा पाँचजना, जुलाईमा पाँचजना अनि अगस्त, सेप्टेम्बर र अक्टोबरमा पनि ५-५ गरेर भुक्तान गर्ने साथै नोभेम्बरदेखि १० जना गरेर भुक्तान गर्न मालिक पक्ष राजी भएका छन्। त्यसरी नै मरियनबारी चियाबारीको श्रमिकहरूलाई यसै मई महिनाभत्रमा छाता र चप्पल वितरण गरिने भएको छ। त्यसरी नै बगानमा रहेको मातृ भ्यानलाई एन्बुलेन्सको रूपमा परिणत गरिने भएको छ भने बगानभित्र पत्ती तौलने घर निर्माण गरिने भएको छ भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले बताएका छन्।