जुनु गौतम र तिलक नेवारको गजबकै प्रस्तुति
टीआरआई समाचार
अरूणाचल प्रदेश: अल अरूणाचल प्रदेश गोर्खा वेलफेयर सोसाइटीले भव्यरुपमा दुईदिने कार्यक्रम आयोजना गरेको थियो। अल अरुणाचल प्रदेश गोर्खा वेलफेयर सोसाइटीले राज्य स्तरीय पहिलो वार्षिक सम्मेलन एवं सांस्कृतिक कार्यक्रम भालुखपोङको नैथ्रिल डाउन जेनरल खेल मैदानमा शनिबार र आइतबार आयोजना गरेको थियो। कार्यक्रमको पहिलो क्रममा राज्यका १८ वटा जिल्लाबाट नृत्य प्रतियोगिमा प्रतियोगीहरूले भाग लिएका थिए। जुन प्रतियोगिताका निर्णायकहरूमा चलचित्र ‘जीवन काँडा कि फूल’ फेमकी गायिका जुनु गौतम, नेशनल स्कूल अफ ड्रामा, नयाँ दिल्लीबाट प्रशिक्षित कलाकार तथा निर्माता सुकबहादुर बसेल अनि गीतकार-सङ्गीतकार कृष्ण श्रैष्ठ रहेका थिए। तीनधारे, दार्जीलिङको अन्तरा ब्यान्डको बेजोड प्रस्तुतिले सबैको मन जित्न सफल बन्योl यस कार्यक्रममा कलाकारहरूले रौसिला गीतहरु गाएर सबैलाई नचाए। यस बाहेक सुपरिचित गायिका जुनु गौतमको स्वरले त्यहाँका श्रोता-दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। कलाकारहरुमा ‘नाच्यो भाले’ गीतका प्रख्यात असमेली गायक तिलक नेवार, जोशिलो आवाजका धनी ‘सलाम सलाम हजुर’का गायक कुमार गुरुङ, नवोदित कलाकार सुस्मिता एर्गेट, अन्तरा ब्याण्डका निर्देशक र गायक बरुन रसाइलीले मुख्यतः गीत गाए भने ब्याण्डका अन्यले पनि बेजोड गीतको प्रस्तुति दिंदै दर्शक-श्रोताहरूलाई नचाउन सफल बने। हरेक गीतले उपस्थित सबैलाई नचायो साथै जय गोर्खाको नाराले गुञ्जियो भालुख्पोङको मैदान। ब्याण्ड टोलीमा की बोर्ड यादव गजमेर, बास गिटार भुपेन गजमेर, गिटार सागर राई, बाँसुरी विवेक थुलुङ, हेन्डसोनिक दिवाकर शंकर, अक्टोपेड साजेश रुचाल, ट्रिप्पल कोङ्गो रविन गजमेर, मादल बरुण रसाइली, कोअर्डिनेटर करण दुतराज रहेका थिए। यस ब्याण्डले आफ्नो सुर ताल अनि रागले सबैलाई मोहित पारेको थियो। साङ्गीतिक टोलीमा सुनिता राई अनि सिमा गुरुङले पनि आफ्नो सहभागिता जनाएका थिए।
यसरी नै समाचार वाचिका/असल फिल्ड रिपोर्टर शीला शर्माले आफ्नो उदघोषणाद्वारा दर्शक- श्रोताहरूलाई कार्यक्रमभरी बाँधेर राख्न सफल भएकी थिइन्। उनका सह-उदघोषकको रुपमा सुकबहादुर बसेल सहभागी थिए। यसरी अरुणाचल प्रदेशको भालुख्पोङमा गायिका जुनु गौतमको नेतृत्वमा गएको टोलीले एउटा सुनौलो छाप छोडेर आउन सफल भएको छ। यति मात्र होइन यात्रा अवधि ट्रेनमा समेत ब्याण्डले सबै यात्रुहरुलाई समेत नचाउँदै आएको थियो।।