५ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजन गरिने खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगिताको फिक्स्चर जारी गरियो। शनिवार (६ मई)-देखि शुरु हुने यस फूटबल प्रतियोगितामा जम्मा ९ वटा टीमले हिस्सा लिनेछ। यी टीमहरूलाई तीनवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा चैतेपानी एफसी, मिक्स्ड अप् बोइज र हिल फूटबल एकाडमी रहेको छ। ग्रुप बी-मा नयाँ बस्ती फूटबल क्लब, मण्टिभियट स्पोर्टिंग क्लब र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) रहेको छ। यसरी ग्रुप सी-मा युनाइटेड दिलाराम, सेण्ट मेरीज र गोथल्स स्लाइडिंग युथ क्लब रहेको छ। शनिवार खेलिने उद्घाटन म्याचमा नयाँ बस्ती फूटबल क्लब र मण्टिभियट स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। आउँदो ८ मईसम्म चल्ने लीग चरणमा हरेक दिन तीनवटा गरेर म्याच खेलिनेछ। म्याचहरू बिहान ११ बजीदेखि शुरु हुनेछ। दुईवटा सेमिफाइनल म्याच ९ मईमा खेलिनेछ। यसरी फाइनल १० मईमा हुनेछ। सबै म्याचहरू चाँदमारी खेल मैदानमा हुनेछ।