५ मईः सीजनको शुरुदेखि नै असाधारण लयमा रहने नापोलीले ३३ सालको दीर्घ प्रतीक्षापछि इटालियन सेरि ए फूटबलको खिताब जित्यो। बिहीवार राति उडिनिस विरुद्ध म्याच १-१-ले ड्र हुनको साथै नापोलीले इटलीको शीर्ष घरेलु लीग च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। नापोलीले अन्तिमपल्ट १९९०-मा महान फूटबलर डिएगो म्याराडोनाको उपस्थितिमा सेरि ए खिताब जितेको थियो। समग्रमा यो टीमको तेस्रो लीग खिताब हो। यसअघि टीमले १९८७ र १९९०-मा ट्रफी जितेको थियो अनि दुवैपल्ट टीममा अर्जेण्टिनाई दिग्गज म्याराडोना रहेका थिए। क्लबले पछिबाट आफ्नो होम ग्राउण्डको नामाकरण नै म्याराडोनाको नाममा गऱ्यो। त्यसपछि आर्थिक संकटले गर्दा क्लब चेपारोमा परेको थियो अनि २००६-मा टीमले सेरि सी-मा पनि हिस्सा लिएको थियो। उडिनिस विरुद्ध म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेले पनि नापोलीले शुरुमै गोल खायो। साण्डी लोवरिचले १३औं मिनटमा उडिनिसलाई बढ़त दिलाए तर विध्वंशी फर्ममा रहने भिक्टर ओसिमहेनले ५२औं मिनटमा गोल गरी नापोलीलाई १-१-को बराबरीमा पुऱ्याए।

म्याच ड्र हुनको साथै लीगमा पाँच राउण्डको खेल बाँकी रहँदै नापोली च्याम्पियन बन्यो। टीमलाई ३३ सालपछि पहिलोपल्ट च्याम्पियन बनाउनमा ओसिमहेन अनि खविचा ख्वारात्खेलियाको महत्त्वपूर्ण योगदान रह्यो। नाइजेरियाई फरवर्ड ओसिमहेनले लीगको २६ वटा म्याचमा २१ गोल गरिसकेका छन्। यसरी नै जर्जियाका विंगर खविचाले १२ गोल गर्नको साथै १० वटा एसिस्ट गरेका छन्। म्याच ड्र भएपछि सेरि ए टेबलको शीर्ष स्थानमा रहने नापोलीको ३३ वटा म्याचमा ८० पोइण्ट पुग्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने लाजियोभन्दा १६ पोइण्ट अधिक रहेको छ।