गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमले केन्द्र सरकार अधीनस्थ रोजगार तथा स्वरोजगार योजनाहरूलाई लिएर जागरूकता कार्यक्रम आयोजन गरेको छ। भाजपा राज्य अध्यक्ष डीआर थापाको आवासमा आयोजित कार्यक्रममा अप्पर बुर्तुक निर्वाचन क्षेत्रका ४० भन्दा अधिक बेरोजगार युवाहरू तथा कृषकहरूले सहभागिता जनाएको भाजपाले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
कार्यक्रम अवधि अध्यक्ष डीआर थापाले प्रधानमन्त्री रोजगार ग्यारेण्टी स्किम, एनएलएम, राष्ट्रिय पशुधन योजना, मुद्रा लोन, सुक्ष्म कृषि लोन साथै ई-श्रम कार्डका लाभहरूमाथि प्रकाश पार्दै युवाहरूले यी योजनाबाट लाभ उठाएर जीवनस्तर सुधार गराउनु पर्ने कुरामा बल दिए। उनले डेयरी फार्मिङ, सुंगुर पालन, कुखुरा पालन साथै स-साना व्यवसायको निम्ति लोन लिनको निम्ति इच्छुक सबैको आधिकारिक औपचारिकताहरू पूरा गर्न सबै सहयोग पुऱ्याइदिने वचन दिॅंदै सबैलाई आ-आफ्नो क्षेत्रमा कड़ा मेहनत गर्न आग्रह पनि गरेका छन्। कार्यक्रमको अवधि सबै सहभागीहरूलाई ई-श्रम पोर्टलमा पंजीकरण गराउँदै विभिन्न सरकारी लाभहरू प्राप्त गर्न सकिने ई-श्रम कार्ड जारी गरिएको विज्ञप्तिमा बताइएको छ।