कालचिनीः भोलि बुद्ध पुर्णिमा अर्थात २५६७औँ बुद्ध जयन्तीलाई छेक पारेर बिहीबार कालचिनी खण्डको मेचपाड़ा ८ नम्बर अवस्थित पेमा छ्योई फेलिङ मोनास्ट्रीमा गुम्बा कमिटीको पक्षबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरीयो।
अलिपुरद्वार जिल्ला अस्पतालमा रगतको आवश्यकता पूर्ति गर्ने उद्देश्यले पवित्र बुद्ध पुर्णिमाको पूर्व तयारीमा यो शिविर सम्पन्न गरीएको र विगत ३ दिनदेखि पवित्र बूमपाठ सम्पन्न पनि भईरहेकोले बिहीबार गुम्बा कमिटीको पक्षबाट स्वेच्छा रक्तदान शिविरको आयोजना गरीएको र यसमा जम्मा २४ यूनिट रक्त सङ्ग्रह गरीएको पेमा छ्योई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जनले जनाएका छन्।
बिहीबार यस क्रममा पेमा छ्योई फेलिङ मोनास्ट्रीमा तीन दिवसीय पवित्र बूम पाठको समापन गरीएको थियो भने रक्तदान शिविरमा गुम्बाका लामा गुरुहरू एवम् गुम्बा कमिटीका सदस्यहरूले रक्तदान गरेका थिए। शुक्रबार विहान गुम्बामा होमयज्ञ सम्पन्न हुने र विहान ९ बजीदेखि भगवान बुद्धको प्रतिमा र पवित्र धर्मग्रन्थ लिएर बौद्ध श्रद्धालुहरूले कोरवा अर्थात शोभायात्रा निकाल्ने जानकारी पनि गुम्बा कमिटीका सचिव राजमान बम्जनले थप जनाएका छन्।