खरसाङ: खरसाङ महाविद्यालयको नेपाली विभागमा व्याकरण र भाषा शिक्षण विषय अन्तर्गत व्याख्यानमाला कार्यक्रमको पहिलो शृङ्खला स्नातक सम्मान र स्नातकोत्तर तहका विद्यार्थीहरू माझमा सम्पन्न भयो। यस व्याख्यानमालाको पहिलो शृङ्खलामा उत्तरबङ्ग विश्वविद्यालयका विभाग प्रमुख वरिष्ठ प्राध्यापक डा पुष्कर पराजुली स्रोत वक्ताका रूपमा आमान्त्रित थिए। स्रोत वक्ता पुष्कर पराजुली खरसाङ महाविद्यालयकै एकजना मेधावी भूतपूर्व छात्र हुन्। उनले सन् १९९२ सालमा यसै महाविद्यालयबाट नेपाली विषयमा स्नातक सम्मान गरेका थिए। डा. पराजुली नेपाली व्याकरण र भाषा विषयका विशिष्ट अध्येता साथै प्राज्ञिक व्यक्ति हुन्। प्रोफेसर घनश्याम नेपाल र डा. पराजुलीको सहलेखनमा ‘माध्यमिक नेपाली व्याकरण र रचना’ (सन् २००७) पुस्तक प्रकाशित छन्। उनले यस व्याख्यानमाला कार्यक्रममा विद्यार्थीहरूलाई व्याकरण र भाषा शिक्षणका साथै नेपाली भाषा पढेर के हुन्छ र नेपाली विषयका डिग्रीको उपयोग कसरी गर्न सकिन्छ जस्ता गम्भीर विषयमा खूबै रोचक र गहन व्याख्यान प्रस्तुत गरेका थिए। नेपाली वर्णविन्यासमा देखापरेका समस्यालाई लिएर विद्यार्थीहरूका पक्षबाट राखिएको जिज्ञासालाई पनि डा पराजुलीले सन्तुष्ट पार्न सफल भएकोमा विद्यार्थीहरूले डा. पराजुलीलाई कृतज्ञता प्रकट गरे। कार्यक्रमको अन्त्यमा प्राचार्य डा. समीर बलले उबवि नेपाली विभाग प्रमुख डा पराजुलीलाई सम्बोधन गर्दै खरसाङ महाविद्यालयको नेपाली स्नातकोत्तर तहको उज्जवल भविष्यको निम्ति सदैव उत्तर बङ्ग विश्वविद्यालय नेपाली विभागको सहयोग र सुझाव आवश्यक रहेको र भविष्यमा ती सुझाव र सल्लाहलाई सहृदय रूपमा कार्यान्वयन गर्दै अघि लैजाने साथै मिलेर काम गर्ने आशा व्यक्त गरे। प्राचार्य डा. बलले आफ्नो बहुमूल्य समय दिएर खरसाङ कलेजलाई उपकृत पारिदिनु भएकोमा डा. पराजुलाई धन्यवाद प्रकट गरे भने प्रत्येक महिना मासिक रूपमा विद्यार्थी उपयोगी यस व्याख्यानमाला कार्यक्रमका शृङ्खलाहरू निरन्तर हुनेछन् भन्ने आश्वास्त पनि गराए। प्राचार्य डा. समीर बलकै दूरदर्शी चिन्तन र आफ्नो भाषा साहित्यप्रतिको मायाले गर्दा यस प्रकारका प्राज्ञिक कार्यक्रमको सुरुवात भईरहेको र प्राचार्यको इच्छाशक्ति र सहयोगको निम्ति नेपाली विभागका सम्पूर्ण प्राध्यापकहरूले प्राचार्यलाई धन्यवाद दिएका थिए। स्रोत व्यक्तिलाई प्राध्यापक गङ्गाप्रसाद शर्माको बाहुलीबाट खदार्पण गरी आरम्भ गरिएको उक्त व्याख्यानमाला कार्यक्रमको सञ्चालन डा. सपन प्रधानले गरे भने कार्यक्रमको समापन प्राध्यापक योगेश खातीले गरे। लगभग दुई घन्टाको अवधिको निम्ति भएको व्याख्यान प्रस्तुतिमा प्राध्यापक रजनी शर्मा लगायत विद्यार्थीहरू उपस्थित रहेका थिए।