४ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगिताको उद्घाटन म्याचमा गत सीजनको च्याम्पियन कालेबुङ जिल्ला पुलिसले जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बिहीवार भएको म्याचमा कालेबुङ पुलिसले सेसोनिअन एफए-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अजय तामाङले २ अनि रोहन (मेस्सी) तामाङले १ गोल गरे। रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफए, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सबै म्याचहरू मेला ग्राउण्डमा खेलिनेछ। शुक्रवार खेलिने म्याचमा नादोङ भूटिया एफए र गोरुबथान एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।