कोलकाता: कलकत्ता उच्च अदालतले नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनलाई राहत दिएको छl शान्ति निकेतन स्थित उनको पैतृक घर ‘प्रतिची’को केही जमिन बेदखल गर्ने विश्व भारती विश्वविद्यालयको सम्भावित कारबाहीमा बिहीबार अन्तरिम रोक लगाएको छl सेनले विश्व-भारती विश्वविद्यालयले जारी गरेको बेदखल नोटिसको विरूद्ध कलकत्ता उच्च अदालतमा गएका थिए, उनलाई शान्तिनिकेतनमा रहेको आफ्नो पैतृक घरको ०.१३ एकड जमिन ६ मईसम्म खाली गर्न भनिएको थियो। विश्वभारती विश्वविद्यालयले सेनले ०.१३ एकड जग्गा अवैध रूपमा कब्जा गरेको आरोप लगाएको छ। सेनले तोकिएको समयभित्र कथित अनाधिकृत कब्जामा रहेको जग्गा खाली नगरे उनलाई त्यहाँबाट निष्कासन गर्ने कारबाही गरिने बताएको छ। न्यायाधीश विभास रञ्जन डेको इजलासले सेनविरुद्धको सम्भावित निष्कासन कारबाहीलाई वीरभूमको ट्रायल अदालतले यस सम्बन्धमा परेको निवेदन सुनुवाइ नभएसम्म अन्तरिम रोक दिएको छ। सेनले पश्चिम बङ्गालको वीरभूम जिल्लाको सुरीको एक अदालतमा उनको सम्भावित निष्कासनमा रोक लगाउन माग गर्दै याचिका दायर गरेका छन्, जसको सुनुवाइ १५ मई तोकिएको छ। अमर्त्य सेनले आफ्नो याचिकामा सन् १९४३ को अक्टोबरमा विश्व भारतीका तत्कालीन महासचिव रतिन्द्रनाथ टैगोरले आफ्ना बाबु आशुतोष सेनलाई ९९ वर्षको भाडामा १.३८ एकड जमिन दिएका थिए, जसले पछि ‘प्रतिची’ निर्माण गरेका थिए।