गान्तोक: हेभेन्ली निर्वाना पाथद्वारा गत २३ अप्रेलदेखि जोरथाङको खेल मैदानमा आयोजना गरेको १५ दिवसीय निःशुल्क आमसा हिलिङ शिविरको आज ११ दिन पुगेको छ। दिनप्रति दिन उपचार गर्न आउने रोगीहरूको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ। आज ११औं दिनको शिविरमा मुख्य अतिथिको रुपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए। मुख्य अतिथि खालिङले शिविरको भ्रमण गर्दै त्यहाँ भइरहेको उपचारबारे जानकारी लिँदै उपचारमा आएका रोगीहरूसँग अन्तरक्रिया गरे। उनलाई यो शिविरमा उपस्थितिको निम्ति गुरूहजुरले मेप्पल ट्री उपहारस्वरुप प्रदान गरे।
खालिङले पत्रकारहरूसँग कुराकानी गर्दै खालिङले यो शिविरको आयोजनको निम्ति मास्टर गडएञ्जल गुरुहजुर अनि हेभेन्ली निर्वाना पाथप्रति आभार व्यक्त गरे। यसका साथै यो शिविर आयोजन गर्नको निम्ति सम्पूर्ण सहयोग प्रदान गर्ने प्रमुख संरक्षक एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि सम्पुर्ण जनताको तर्फबाट धन्यवाद चढ़ाए। यस शिविरमा सेवा पुऱ्याइरहेका राज्य लगायत राज्य बाहिरका स्वयंकेवकहरूलाई पनि उनले आफ्नो अनि सिक्किमे जनताको तर्फबाट धन्यवाद दिए। उनीहरूको निःस्वार्थ सेवा भावनाको कारण सिक्किमका धेरै रोगीहरूले स्वास्थ्य लाभ उठाउन सफल भएको जानकारी गराए। यसरी आफ्नो व्यस्त कार्यक्रमहरूबाट पनि समय निकालेर गडएञ्जल गुरु हजुर स्वयं यो शिविरमा उपस्थित रहनु सिक्किमको निम्ति खुशीको कुरा रहेको उनले बताए। यो शिविरबाट मानव सेवानै माधव सेवा भन्ने वाक्य चिरतार्थ भएको खालिङले मन्तव्य प्रकट गरे।
ज्ञात रहोस्, यो १५ दिवसीय निशुल्क हिलिङ शिविर आगामी ७ मईको दिन समापन हुनेछ। उक्त समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयं मुख्य अतिथिको रुपमा उपस्थित रहने आयोजक समितिको भनाइ रहेको छ। सो दिन गुरु हजुरले सामुहिक हिलिङ गर्ने पनि जानकारी प्राप्त भएको छ भने आयोजक समितिले उक्त दिन सम्पूर्ण जनसाधारणलाई उपस्थित भइदिने आग्रह गरेको छ।