जलपाइगढी: जलपाइगढी जिल्लाको धुपगढी ब्लक अन्तर्गत मल्लिक शोभा गाउँको ठाकुरपाट क्षेत्रमा मध्यरातमा आमा र छोरा सुतिरहेका बेला ओछ्यान नजिक एउटा हात्ती आयो। घटना मंगलबार अबेर राति भएको हो। ५५ वर्षीया मिनती देवीले बल्ल-तल्ल भागेर आफ्नो ज्यान जोगाइन्। स्थानीय स्रोतका अनुसार मंगलबार राति सोनाखली जंगलबाट एउटा जङ्गली हात्ती निस्केर घरको बार तोडेर ५५ वर्षीया मिनती देवी सुतेको ओछ्यानसम्म पुगेको थियो। मिनती देवी र उनको छोरा त्यहाँबाट भागेर आफ्नो ज्यान जोगाउँन सफल भएता पनि हात्तीले घरका सबै सामान तोड़फोड़ गरिदिएको छ। छेउमा भान्सा घर थियो, त्यो पनि तहस-नहस पारिदिएको छ। आमा-छोरा चिच्याएको सुनेर स्थानीयवासी दौडिएपछि हात्ती फेरि जङ्गलतर्फ भाग्यो। घटनाबारे मोराघाट रेन्जका वनकर्मीलाई खबर गरिएको थियो। तर, जङ्गल नजिकका क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरू आफूहरूले यस्तै गरी हात्तीको आतंकमा दिनहुँ रात बिताउने गरेको बताउँछन्।