खरसाङमा भईरहेको लेदर बल क्रिकेट टुर्नामेन्टमा नर्थ जोन दार्जिलिङ र ब्लु डाईमण्ड दार्जिलिङ फाइनलमा प्रवेश

IMG-20230502-WA0255.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खरसाङको चानमारी खेल मैदानमा भईरहेको लेदर बल क्रिकेट टुर्नामेन्टमा नर्थ जोन दार्जिलिङ र ब्लु डाईमण्ड दार्जिलिङ फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमी फाइनल खेल अन्तर्गत पहिलो खेल नर्थ जोन दार्जिलिङ र पथिरामजोत क्रिकेट एकाडेमी सिलगढीमाझ सम्पन्न भएको थियो। उक्त खेलमा टस जितेर नर्थ जोन दार्जिलिङले पहिला ब्याटिङ गर्दै १८ ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्यलाई खेदो गर्दै सिलगढीले १८ ओभर ३ बलमा केवल १४८ रन बनाएर अल आउट भएको थियो।

यस खेलमा व्यक्तिगत रूपमा ४७ रन अनि २ विकेट लिने दार्जिलिङका खेलाड़ी विशाल तामाङ म्यान अफ् द म्याच चयन भएका थिए। त्यसरी नै दोस्रो सेमी फाइनल खेल आकाशवाणी खरसाङ र ब्लु डाईमण्ड दार्जिलिङमाझ सम्पन्न भएको थियो। उक्त खेलमा टस जितेर पहिला व्याटिङ गर्दै ब्लु डाईमण्ड दार्जिलिङले १८९ रनको लक्ष्य दिएको थियो। दार्जिलिङको पक्षबाट कुनाल गुप्ताले ४७ रन अनि आदम आलमले 33 रन बनाएका थिए। १८९ को लक्ष्यलाई खेदो गर्दै आकाशवाणी खरसाङको टिमले २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमा सबै अल आउट भएको थियो। आकाशवाणीको टिम एक समय ११ ओभरमा केवल ५७ रन बनाएर ७ विकेट गएको थियो अनि छिट्टै अल आउट हुने सम्भावना देखिएको थियो। तर आकाशवाणी खरसाङको पक्षमा निर्मल गुरुङ र अभिषेक गोयलले नट आउट खेल्दै अन्तिम २० ओभरसम्म संघर्ष गरेका थिए। दुवेले आठौं विकेटको साझेदारीमा ९० रन बनाएका थिए। यस क्रममा निर्मल गुरुङले म्याचकै सर्वाधिक रन नट आउट ४७ रन बनाएका थिए भने अभिषेक गोयलले नट आउट ४२ रन बनाएका थिए। अब आगामी ४ मईको दिन हुने फाईनल खेलमा नर्थ जोन दार्जिलिङ र ब्लु डाईमण्ड दार्जिलिङमाझ उपाधिको लागि भिड़न्त हुने भएको छ।

यस लेदर बल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले पत्रकारहरूलाई सम्बोधन गर्दै जिल्ला क्रिकेट एसोसिएशन र खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको संयुक्त आयोजनामा लेदर बल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट गत १ मईदेखि सुरु भएको र यस लेदर बल टुर्नामेन्टमा जम्मा छवटा दलहरूले भाग लिएका थिए भनी जानकारी गराएका छन्। उनले यो लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय प्रतिभाशाली युवाहरूलाई क्रिकेटमा भविष्य खोज्नु साथै युवा क्रिकेटरहरूलाई ठूलो ठूलो मञ्च प्रदान गर्नु रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement