नाम्चीः विद्युत कम्पनी टीपीटीएलले आफ्नो परियोजना निर्माण अवधि प्रभावित परिवारलाई क्षतिपूर्ति नदिएको साथै बिजुलीको करेण्टले प्रभावित कामराङ चौतारे गाउँको आज नाम्ची जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमले स्थलगत निरीक्षण गरिन्।यस अवधि उनले त्यहाँको स्थितिलाई गम्भीरतासँग लिएर हप्ता दिनभित्र प्रभावित परिवारलाई कम्पनीद्वारा उल्लिखित क्षतिपूर्ति राशि दिइनुपर्ने अन्तिमेत्थम दिएकी छन्। जानकारी गराइन्छ, कामराङ चौतारे गाउँमा लगभग ८५ घर रहेको छ भने यस गाउँबाट टीपीटीएल कम्पनी विद्युत कम्पनीले आफ्नो परियोजना निर्माण अवधि यहाँको कतिवटा घरहरूको माथिबाट हाई टेन्सन तार कुदाएको छ। जसले गर्दा यसको मुनि परेका घरहरू धेरै प्रभावित बनेका छन्।
२०१५-१६-मा यो परियोजना निर्माण गरिए पनि अहिलेसम्म आफूहरूले क्षतिपूर्ति नपाएको कारण अहिलेसम्म अर्को घर बनाएर सर्नु नसकेको स्थानीय मानिसहरूले अध्यक्ष राजालिमअघि गुनासो पोखे। यहाँ हाई टेन्सनले प्रभावित घरहरूको छानामा टेस्टर लगाएर जाँच गर्दा बत्ती बल्ने गर्छ। योसँगै करेण्टको प्रभावले धेरै दोजिया महिलाहरूको गर्भपतन भइसकेको स्थानीयहरूको भनाइ रहेको छ भने करेण्टले गर्दा गाई, बाख्राहरू मर्ने गरेको उनीहरूले गुनासो गरेका छन्। त्यसताक आफूहरूले क्षतिपूर्तिको निम्ति आवश्यक पहल गर्न जिल्लापालसमक्ष जाँदा उनले सुकुमबासी बनाइदिने धम्कीसमेत दिएको ती मानिसहरूले आज अध्यक्ष राजालिमसमक्ष दुखेसो पोखेका छन्।
आजको स्थलगत निरीक्षण अवधि टीपीटीएलका महाप्रबन्धकको पनि उपस्थिति रहेको थियो। उनले जिल्लापालद्वारा यसबारे आधिकारिक पहल गरिए निश्चित रूपमा क्षतिपूर्ति भुक्तान गर्नु सकिने बताएका छन्। भ्रमण अवधि जिल्ला अध्यक्ष सुश्री राजालिमसँगै उपाध्यक्ष विकास तामाङ, सम्बन्धित विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।