१६ मईः दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले आइतवार इटलीको ओपनको फाइनलमा स्टेफानोस सितसिपासलाई ६-९, ७-६-ले पराजित गरी छैटौंपल्ट यस खिताबलाई जित्नको साथै फ्रेञ्च ओपन अघि असाधारण लयमा रहेको सबूत दिए। अष्ट्रेलियन ओपनको अवधि टीकाकरण विवादले गर्दा सत्रको शुरुवातमा अधिकांश समय नै खेलदेखि टाढ़ा रहने जोकोविचले यस टुर्नामेण्टमा उत्कृष्ट प्रदर्शन गरे। उनले यसअघि सेमिफाइनलमा कास्पर रुड विरुद्ध सीधा सेटमा जीतको साथ इटली ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाएका थिए। विश्वका नम्बर एक खेलाड़ीले रुड विरुद्ध आफ्नो करियरको १०००औं जीत दर्ता गरेका थिए। उनी यस उपलब्धिलाई हासिल गर्ने जिमी कोनर्स (१२७४ जीत), रोजर फेडरर (१२५१), इभान लेण्डल (१०६८) र रफायल नडाल (१०५१) पछि केवल पाँचौं पुरुष खेलाड़ी हुन्। यसअघि पोल्याण्डकी इगा स्वियातेकले महिला एकलको फाइनलमा ओन्स जाबुरलाई ६-२, ६-२-ले पराजित गरी लगातार २८औं जीतको साथ खिताब जितिन्। उनले अमेरिकाकी दिग्गज खेलाड़ी सेरेना विलियम्सकी लगातार २७ वटा जीतको रेकर्ड तोड़िन्। सेरेनाले २०१४-देखि २०१५-बीच यस उपलब्धिलाई हासिल गरेकी थिइन्। ओन्स जाबुर पनि लगातार ११ वटा जीतको साथ फाइनलमा पुगेकी थिइन् तर विश्वकी नम्बर एक खेलाड़ी विरुद्ध उनको कुनै शीप चलेन।