टीआरआई विश्लेषणात्मक समाचार
खरसाङ: अलग अलग विचारधाराका दुई नेताको आकस्मिक भेटबाट विकास कार्य पहलबारे निष्कर्ष निस्किनु राजनीतिमा प्राय: दुर्लभ घटना नै मान्नुपर्छl आज (२ मई) खरसाङको उजेरी बस्तीमा अवस्थित श्री श्री सात कन्या देवी एवं माँ कात्यायनी धाममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल अनित थापा र भाजपाका राष्ट्रिय प्रवक्ता एवं सांसद राजु बिष्टको भेट प्राय: दुर्लभ नै थियोl राजनैतिक दृष्टिकोणबाट हेर्ने हो दुवै नेता अनित थापा र राजु बिष्ट एकअर्का बीच खरो आलोचना गर्ने दुई फरक विचारधाराका विपक्षी नेता हुन्l तर यो भेट, न त् कुनै पूर्व नियोजित थियो न त कुनै राजनैतिक भेटl

अहिले मन्दिरमा गएको २७ अप्रेलदेखि ५ मईसम्म नौ दिनको पूजा चलिरहेको छl दुवै नेता आ-आफ्नो आस्था राखेर पूजामा आएका हुन्l अनित थापा अघि पुगेका थिए भने राजु बिष्ट केही बेर पछि आएका थिएl मन्दिरभित्र बुढी बोज्यु महारानी र माँ कात्यायनीको अघि दुवै नेताले सँगै पालैपालो गरि आरती गरेl त्यहाँ दुवैको ईश्वरप्रति आस्था र विश्वास थियोl दुवैले केही न केही कामना गरे होलान्l आरती सकेपछि दुवै नेता मन्दिरको माथिल्लो तलामा महाप्रसाद ग्रहण गर्न बसेl यस अवधिमा मन्दिरको समितिका कार्यकारीहरूसित बातचित हुँदा मन्दिरसम्म गाडी आउनका लागि सडक निर्माणबारे कुरा निस्कियोl मन्दिर निर्माण समितिले वृद्धवृद्धाहरूलाई पनि मन्दिरमा आउनका लागि बाटो निर्माणको लागि निक्कै दिनदेखि चर्चा गरिरहेको थियोl सो बनाउने रकम जुटाउन निक्कै गाह्रो थियोl बाटो निर्माणका लागि राजु बिष्टले सांसदको स्थानीय क्षेत्र विकास कोषबाट ५० लाख रुपियाँ अनि अनित थापाले जीटीएको तर्फबाट ५० लाख रुपियाँ खर्च गर्ने निष्कर्ष निस्कियोl सकारात्मक सोच र विचारको परिणामले यो एउटा राम्रो निष्कर्ष निस्कियोl हरेक राजनैतिक दल र नेताबाट जनताले चाहेको पनि यस्तै राम्रो निष्कर्ष होl
दुवै नेता जीटीएका मुख्य कार्यपाल अनित थापा र सांसद राजु बिष्ट बीच सौहार्दपूर्ण वातावरणमा बातचित भइरहेको थियोl यस्तो भेटघाट बारेमा प्रश्न गर्दा अनित थापाले भने, ‘हाम्रो राजनीति अलग हो, तर जातिले हामी एकै गोर्खा हौँl अनित थापा भन्छन्, ‘जहाँबाट पनि होस्, म पहाडको विकास होस् भन्ने चाहन्छुl’ सांसद राजु बिष्ट भन्छन्, ‘राजनीतिमा जति दिन छु, मेरो जातिको लागि राजनीति गरिरहनेछुl यस्तै धार्मिक कार्यक्रमले जातिलाई अघि बढाउँछl यस्तो कार्यक्रमलाई अझ प्रोत्साहन दिनुपर्छl राजनैतिक कार्यक्रमले मात्र जातिलाई अघि बढाउँछ भन्ने होइनl जातिलाई एकत्रित बनाएर राख्ने, आफ्नो धर्म-संस्कृति र परम्परालाई बचाउने समाज होl’
आज दुई नेताको भेट हुँदा एउटा विकासको स्रोत खोलियोl सन् १९८६ देखि हेर्ने हो भने पहाडले सामाजिक, राजनैतिक संस्कार गुमाउँदै गएको थियोl चाहे त्यो कार्यक्रम स्थल होस्, सामाजिक क्षेत्रमा पनि दुई विपक्षी नेतालाई एकसाथ सौहार्दपूर्ण वातावरणमा देख्न पाउनु प्राय: दुर्लभ भइसकेको थियोl झनै राजनैतिक क्षेत्रमा भने कटाक्ष शत्रु नै हुन्थेl आज अनित थापा र राजु बिष्टको आकस्मिक भेटबाट मन्दिरमा गाडी आउने मार्ग खोलिने निष्कर्ष निस्कियोl विपक्षी नेताहरूको यस्तै भेटको सकारात्मक सोच-विचारबाट पहाडको उज्ज्वल भविष्यको मार्ग खोलिनुपर्छ भन्ने जनताको चाहना होl यस्तै सौहार्दपूर्ण भेट र बातचितले पहाडको सामाजिक, राजनैतिक संस्कार पनि परिष्कृत बन्नेछ अनि अग्रगामी विकासको मार्गमा प्रवेश गर्नसक्नेछl