सोनिया गान्धीको श्वासनलीमा संक्रमण

Sonia-Gandhi-1

नयाँ दिल्ली: कांग्रेस अध्यक्ष सोनिया गान्धी श्वासनलीमा गम्भीर संक्रमणसँग जुधिरहेकी छिन्। कोभिडपछि हालै उनको नाकबाट रगत आएको थियो। शुक्रबार कांग्रेसले उनको स्वास्थ्य सम्बन्धमा महत्वपूर्ण जानकारी दिएको छ। पूर्व केन्द्रीय मन्त्री तथा कांग्रेस प्रवक्ता जयराम रमेशले सोनिया गान्धी अझै पनि दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना रहेको बताए। उनको श्वासनलीको संक्रमण र कोभिड-१९ पछिको जटिलताको उपचार भइरहेको छ। उनी चिकित्सकको नजिकको निगरानीमा छिन्। कांग्रेस महासचिव जयराम रमेशले कांग्रेस सभापतिको तल्लो श्वासनलीमा ‘फंगल इन्फेक्सन’ देखिएको बताए। यो संक्रमण र कोभिड–१९ सङ्क्रमणपछिको जटिलतालाई ध्यानमा राखेर उपचार भइरहेको उनले बताए। कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड पत्ता लागेपछि स्वास्थ्य जटिलताका कारण १२ जूनमा सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। २ जूनमा उनमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

जयराम रमेशले विज्ञप्ति जारी गर्दै कांग्रेस सभापतिको सर गंगाराम अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। बिहीबार उनलाई सास फेर्न समस्या भएको थियो। त्यसपछि उनको श्वासनलीमा फङ्गल इन्फेक्सन भएको अनुसन्धानमा पाइएको थियो। प्रवर्तन निर्देशनालय (ईडी) ले कांग्रेस अध्यक्षलाई नेशनल हेराल्डसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा २३ जूनमा सोधपुछको लागि उपस्थित हुन नयाँ समन जारी गरेको छ। यसअघि उनलाई ८ जूनमा हाजिर हुन भनिएको थियो, तर कोरोना संक्रमित भएकाले नयाँ मिति तोकेर अनुसन्धान निकायसमक्ष हाजिर हुन आग्रह गरेको थियो।

About Author

Advertisement