सिलगढी: राष्ट्रिय राजमार्ग ३२७ मा मंगलबार बिहाँन बस र अटो एक-आपसमा ठोक्किँदा ७ जना गम्भीर घाइते भएका छन्। घटना खोरीबारीको कालीबाडी क्षेत्रमा भएको हो। गलगलियाबाट सिलगढीतर्फ आइरहेको निजी यात्रीबाहक बसर नक्सलबारीबाट गलगलियातर्फ जाँदै गरेको अटो एक-आपसमा ठोक्किएको बताइएको छ। स्थानीयले हत्तपत्त घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र बतासे पुर्याएका थिए। घटनाका कारण राष्ट्रिय राजमार्ग जाम भएको छ। खबर पाएलगत्तै खोरीबारी पुलिस घटनास्थल पुगेको थियो। तीव्र गतिमा आईरहेको बसलाई ओभरटेक गर्ने क्रममा कार रोकेर एक यात्रु तल ओर्लँदै गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शी मृत्युञ्जय सरकारले बताए । उनले उक्त क्षेत्रमा बसको गति घटाउन माग गरेका छन्।अर्का एक प्रत्यक्षदर्शी अमल मण्डलका अनुसार,तीव्र गतिका कारण गाडीले नियन्त्रण गुमाएर अटोलाई ठक्कर दिँदै विद्यालय नजिकैको मैदानमा पल्टेको थियो। जसका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ। बिहान बस चालकहरूले मादक पदार्थ सेवन गरी प्रतिस्पर्धा जस्तो सवारी चलाउने गरेकाले बारम्बार दुर्घटना हुने गरेको बताइएको छ। घाइते ६ जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको भएता पनि ५० वर्षीय मोहम्मद चैतुको अवस्था गम्भीर रहेकाले उत्तरबंगाल मेडिकल कलेज अस्पताल पठाइएको जानकारी छ।