सिलगढी: कालेबुङ पेदोङ निवासी गोरामुमोका वरिस्ठ नेता तथा पूर्व दागोपाप काउन्सिलर रोशन लामाको हिजो अबेर साझ रहस्यमय ढङ्गबाट मृत्यु भएको छ। सोमबार अबेर साँझ उनलाई बर्मेक देवरालीबाट गम्भीर घाइते अवस्थामा उद्धार गरी कालेबुङ अस्पताल लगिएता पनि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको जानकारी प्राप्त छ।प्राप्त जानकारी अनुसार,घटना सोमबार अबेर साँझ बर्मेक देवरालीमा भएको हो । यस सम्बन्धमा पेदोङ पुलिस थाना अप्पर न्योङ निवासी रोशन लामाका भाई भूषण लामाले लाभा पुलिस थानामा सोमबार अबेर राति नै लिखित उजुरी दिएका थिए ।उजुरीपछि पुलिसले राति नै आरोपीको खोजी कार्य सुरु गरेको थियो। आरोपीलाई मंगलबार बिहान पक्राउ गरिएको छ।
पुलिस स्रोतका अनुसार,हिजो गोरामुमो नेता रोशन लामा आफ्नी श्रीमती र छोरी लिएर कालेबुङबाट मनसोङस्थित आफ्नो घर फर्किरहेका थिए। राति करिब ८ः३० बजे उनको कार बर्मेक देवरालीमा एउटा मोटरसाइकलसँग ठोक्कियो। रोशनले यसबारे ती आरोपी मोटरसाइकल चालक छिरिङ शेर्पालाई गुनासो गरे।यो कुरालाई लिएर दुईबीच पहिले बहस सुरु भयो।केही समयपछि झगडामा परिणत भएको बताइएको छ। यसैबीच आरोपी १६ माइल बस्ने छिरिङ शेर्पाले अचानक रोशन लामालाई धकेलेर भीर तलतिर झारे। घटनापछि आरोपी घटनास्थलबाट फरार भएका थिए। धेरै प्रयास पछि गम्भीर घाइते भएका रोशन लामालाई माथि निकालेर कालेबुङ जिल्ला अस्पताल ल्याइएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेको कुरो परिवार श्रोतले जनाएको छ।
यता,उजुरीको आधारमा पुलिसले आरोपीलाई पक्रन रातभरी छापामार अभियान चलाएको र आज बिहान पक्राउ गर्न सफल भएको पुलिस श्रोतले जनाएको छ। पुलिसले घटनाबारे गहन अनुसन्धान शुरू गरेको पनि जानकारी दिएको छ।











