कोलकाता: भारतीय जनता पार्टी (भाजपा) नेताको हत्या भएको घटना पूर्व मेदिनीपुर जिल्लाको मोयनामा गए सोमवार साँझ भएको हो। यस हत्याकाण्डबाट सम्पूर्ण क्षेत्रमा सन्त्रास फैलिएको छ। भाजपाले मंगलवार बिहान यसको विवरण जारी गरेको छ।
भाजपाले बताएको छ- ‘मोयनाका बूथ अध्यक्ष विजय कृष्ण दौलुई सपत्नीक घर फर्किरहेका थिए। बीच बाटोमा तिनलाई पत्नीकै सामु कुटपीट गरियो। त्यसपछि तिनी घर गए। केही समयपछि बाइकमा सवार भएर तिनको घरमा पुगेका तृणमूल कंग्रेसका नेताहरूले तिनलाई घरबाट लिएर गए, त्यसपछि तिनको हत्या गरी शव घरदेखि केही टाड़ामा फालिदिए।’यस घटनाको विरोधमा मोयनाबाट भाजपा विधायक अशोक डिंडाको नेतृत्वमा कार्यकर्ताहरूले थाना घेराउ गरेका छन्। डिंडाले आरोप लगाएका छन्, यस हत्याकाण्डमा मोयनाबाट तृणमूल कंग्रेसका पूर्वविधायक संग्राम दोलुईको हात छ। यस आरोपको सम्बन्धमा पूर्व विधायक संग्रामसित मोबाइल फोनमा प्रतिक्रिया लिनको लागि सम्पर्क गरिएको थियो, तर उनले फोन कल उठाएनन्। तृणमूल कंग्रेसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पुलिस पनि मौन छ। विगत २ मई, २०२१ मा सम्पन्न पश्चिम बंगाल चुनाउको मतगणनाको परिणाम घोषणा गरिएको थियो। त्यसपछि राज्यभरि हिंसा भएको थियो। यस हिंसामा ६० भन्दा अधिक भाजपा कार्यकर्ताहरूको हत्या भएको थियो। त्यसै हिंसा र हत्याको विरोधमा भाजपाले आज २ मईलाई ‘कालो दिवस’ को रूपमा मनाइरहेको छ।