आफन्तहरूलाई च्याप्ने प्रथा हटेमा मात्र मजदुरवर्गले न्याय पाउने छन्: मुख्यमन्त्री गोले
गान्ताेक: सिक्किम सरकारको श्रम विभागको पहलमा आज पाकिम जिल्लाअन्तर्गत कुमरेकको गुलमोहर पार्कमा अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिको रूपमा उपस्थित रहेको थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले 1 मईलाई विश्वमा नै मजदुर दिवसको रूपमा पालन गरिने बताए। मजदुरहरू नभएको भए आज विश्वको निर्माण हुन नसक्ने आशय व्यक्त गराउँदै मजदुरहरूको कारण नै सिक्किमको विकासले अहिले यहाँसम्म आइपुगेको र भविष्य पनि यसरी नै सिक्किमको हितमा योगदान पुर्य़ाउन आग्रह गरे।

उच्च पदमा बस्ने व्यक्तिहरूले जस्तै मजदुरको इञ्जत हुनुपर्ने मन्तव्य राखे। मजदुरहरूको शक्तिको कारण नै देश र राज्यमा सरकार परिवर्तन हुन्छ, यसर्थ मजदुरहरूले कहिले पनि आफूलाई सानो नसोच्ने आग्रह गरे। सरकारमा आएपछि आफ्नो मान्छेलाई च्याप्ने प्रथा हटाउनु पर्छ, जुन कुरा पूर्व सरकारमा व्याप्त थियो। पूर्व सरकारमा आफन्तहरूले व्यापार धन्दा चलाउँदै आइरहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरे। यसर्थ आफन्तलाई च्याप्ने प्रथा तोडे मात्र मजदुरवर्गले न्याय पाउन सक्नेछन्, मुख्यमन्त्री गोलेले भने।