गान्तोक: दक्षिण जिल्ला अन्तर्गत जोरथाङको खेल मैदानमा हेभेन्ली निर्भाना पाथद्वारा गत २३ अप्रेलदेखि आयोजित १५ दिवसीय आमसा मेगा हिलीङ शिविरको ९औं दिनमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्रीका सल्लाहाकार रोहितराज महाराज उपस्थित थिए। उनले आज शिविरमा उपस्थित जनाएर यहाँ सम्पन्न भइरहेको उपचार प्रक्रियाको अवलोकन गरे। उनी स्वयंले आमसा हिलिङको चिकित्सा उपचारको लाभ उठाए।
यसरी आत्म, मन अनि शरिरको रोगले ग्रसित राज्यवासीलाई सित्थैमा उपचार गर्नहेतु यो शिविर आयोजन गरेकोमा उनले हेभेन्ली निर्वाना पाथ अनि गुरुहजुरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए। उनले उपचाराधीन रोगीहरूसँग पनि भेट गर्दै अन्तरक्रिया पनि गरे। अन्तरक्रिया अवधि कतिपय रोगीहरूलाई यो उपचार पद्दतिले तत्काल असर गरेको पनि उनलाई अनुभव बताए।
यो हिलिङ शिविरमा दैविक उपस्थिती रहेको पनि महाराजले अवगत गराए। यसको साथै उनले गुरु हजुर अनि हेभन्ली निर्वाना पाथलाई पनि यो शिविरको निम्ति आभार व्यक्त गरे। सिक्किम राज्यका अन्य रोगीहरूलाई पनि उनले उपस्थित बनेर हिलिङ शिविरको लाभ उठाउने आग्रह गरे।
ज्ञात रहोस्, यो मेगा हिलिङ शिविर राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षणमा अनि गुरु हजूर गड एञ्जलको दिशानिर्देशनमा सम्पन्न भएको हो। यो अघि पनि हेभेन्ली निर्वाना पाथले राज्यको विभिन्न ठाउँमा हिलिङ शिविर सम्पन्न गरिसकेको हो। तर यो पल्टभने सबैभन्दा लामो १५ दिवसीय शिविरको आयोजना गरेको हो जसमा राज्य अनि राज्य बाहिरका रोगीहरूले उपचार लिइरहेका छन्। उपचार पद्दति वैज्ञानिक ढङ्गमा सम्पन्न भएको आयोजक पक्षले जानकारी गराएको छ। उपचार गर्न आउने रोगीले न्युनतम ७ दिनसम्म निरन्तर रुपमा उपचार लिनुपर्नेछन्। हेभेन्ली निर्वाना पाथसँग आबद्ध राज्य अनि छिमेकी देश नेपालका स्वयं सेवकहरूले निशुल्क उपचार प्रदान प्रदान गरिरहेका छन्। यहाँ उपचार गराउन आउने रोगीहरूको निम्ति आयोजक पक्षले निशुल्क खाने अनि बस्ने व्यवस्था मिलाएको छ। हेभेन्ली निर्वाना पाथका व्यासनन्द गुरुजी, हेनीपा सिक्किमका सचिव एवं गेजीङ जिल्ला पञ्चायत अध्यक्ष लगायत अन्यले यो शिविरको निरन्तर निगरानी गरिरहेको छ।