काठमाण्डौँः नेपालबाट चीनतर्फ तातोपानी नाकाबाट आठ वर्षपछि निर्यात खुलेको छ। आज सोमवार हस्तकला र मुढाले भरिएको तीनवटा कन्टेनर मितेरी पुल हुँदै चीनतर्फ निर्यात भएको हो।२०१५ को महाभूकम्पपछि क्षति पुगेकाले तातोपानी नाका बन्द थियो। पछि चीनले आफ्नो तर्फबाट मात्र सामान नेपाल पठाउने गरेको थियो।नेपालको पटक पटकको आग्रह र द्विपक्षीय वार्ता पछि नाका दुईतर्फी खोल्न तयार भएको हो। तर, नेपालले एक सय ८२ प्रकारका सामाग्री मात्र निर्यात गर्न पाउने तातोपानी भन्सारका प्रमुख दयानिधि केसीले बताए। ती सामाग्रीहरुमा चाउचाउ, जडिबुटी, हस्तकला, वनस्पती लगायत छन्।
तातोपानी नाका स्थित मितेरी पुलको नेपालतर्फ सुरक्षा अधिकारी, भन्सार अधिकारीहरुको उपस्थिति थियो। चीनतर्फका अधिकारीहरु पनि खासातर्फ उपस्थित थिए।निर्यात खुलेपनि नेपालीहरु विना भीसा चीनको भूभागमा जान पाउने छैनन्। भूकम्पअघि नेपालीहरु चीनतर्फको खासा बजारसम्म परिचयपत्र देखाएर जान पाउँथे।अप्रेल १७ मा सुरक्षा अधिकारीहरुको वार्तापछि ६ बुँदे सहमतिसँगै नेपाल र चीनबीचको तातोपानी नाका दुई तर्फी खुलाउने सहमति बनेको थियो। योसँगै नेपाल र चीनबीच दुईतर्फी आयातनिर्यातका लागि दुईवटा नाका खुलेका छन्। अप्रिल १ मा रसुवागढी नाका दुईतर्फी खुलिसकेको छ।