दार्जीलिङ: गोर्खाको गरिमा बचाउन नसक्नेहरूको पछि हामी लाग्नु हुँदैन भनी वीरबहादुर मुखियाले बताएका छन्। सुकिया मानेभञ्ज्याङ समष्टिमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम् उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, दार्जीलिङ महकुमा समिति अध्यक्ष पुरण तामाङ, सभासद रोबर्ट छेत्री, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रमुख सल्लाहकार राजु सुब्बा, सभासद प्रतिम सुब्बा, सुकिया मानेभञ्ज्याङ अध्यक्ष दिपेन राई, सचिव गोविन राई आदि उपस्थित रहेका थिए। सभामा सुकिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत टिफिन डाँड़ा, लामा डाँड़ा ,शिकारी डाँड़ा, देवी स्थान गाउँ, गैरी गाउँ, पशुपति फाटक, छब्बिसे गाउँ आदि क्षेत्रका धेरै समर्थकहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएको प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सबै समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पेका छन्। हाम्रो पार्टीमा सामेल भएपछि देवीस्थान गाउँका वीरबहादुर मुखियाले गोर्खा जातिको जातीय गरिमा बचाउन नसक्नेहरूको पछि हामी लाग्नु हुँदैन भन्दै उपस्थित भीड़लाई सतर्क गराएका छन्। उनले अघि भने गोर्खा जातिको गरिमालाई बंगालको काखमा बेचेर अहिले कुखुरा, बाख्रा, सुगुर आदि बाँटेर जनताको अघि दूधको सोझो बिरालो हुन खोज्दैछ। तर यस्ता नेताहरूसंग जनता होसियार बस्नुपर्छ मुखियाले भने। उनले अघि भने गत केही दिन अघि सुकिया मानेभञ्ज्याङ समष्टिको विभिन्न स्थानहरूमा पनि कुखुरा, सुगुर, बाख्रा आदि बाँट्ने काम गरेको थियो। मैले पनि थापे तर उनीहरूले दिएको पशु पक्षीहरू थाप्यो भन्दैमा उनीहरूको पछि लाग्ने मान्छे होइन म मुखियाले भने। गोर्खा जातिको जातीय गरिमा मैले बुझेको छु। यस्ता नेताहरूको पछि लाग्दा आफू मात्र होइन जाति नै बर्बाद हुनेछ,जो मेरो अन्तरात्माले कदापी स्वीकार्न सक्दैन मुखियाले भने। उनले अझ भने, हाम्रो पार्टीलाई केही पनि दिएका थिएनौं तर पनि अध्यक्ष अजय एडवाडर्सले आफ्नो निजी कोषबाट देवीस्थान गाउँसम्म पुग्ने बाटोको निर्माण कार्य गरिदिनु भएको छ त्यसको निम्ति हामी आभारी छौं। विगतका दिनहरूमा सत्ता चौकीमा बस्नेहरूलाई हाम्रो गाउँसम्म जाने बाटोको निर्माण गरिदिने धेरै चोटी अनुरोधहरू गरेका थियौं। तर उनीहरूले हामीलाई आश्वासनबाहेक अरू केही दिएन। जीटीए सभाको चुनावमा हामी आफै खटिएर उनीहरूलाई सभासद निर्वाचित गरेर पठायौं। जीटीए सभाको चुनाव अवधि उनीहरूले बारीमा पैह्रो गएको समेत देखेका थिए तर जीटीए सभा गठन गरेपछि सभासद निर्वाचित भईसकेपछि विभिन्न प्रकारको बहाना बाजीहरू गर्न थाल्यो तर हाम्रो पार्टीलाई हामीले केही गरेनौं। तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले नै हाम्रो गाउँसम्म पुग्ने बाटोको निर्माण कार्य गरी दिएको हो। कुनै पनि गाउँको विकास हुनलाई सर्वप्रथम त्यस ठाउँमा बाटोको ब्यवस्था हुन जरूरी हुन्छ जो काम हाम्रो पार्टीले गरी दिएको छ मुखियाले भने। अहिले पञ्चायत चुनावको हावा चल्दैछ उनीहरूले गाउँ गाउँमा कुखुराको चल्लाहरू बाँट्दै हिँडदैछ मैले त कुखुराको चल्लाहरू थापे तपाईहरूले पनि थाप्नु होस तर गोर्खा जातिको गरिमा बेच्नेहरूको पछि भने कदापी नलाग्नोस मुखियाले भने।