बालुरघाट: उत्तर बंगालस्थित भारत–बंगलादेश सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले हिली क्षेत्रमा करीब १३ करोड रुपियाँ लागतको सर्पको विष बरामद गरेको छ । विशेष कुरा के छ भने जुन काँचको जारमा यो तस्करी भइरहेको थियो त्यसमा ‘मेड इन फ्रान्स’को सुनौलो ड्र्यागनको ट्याग छ। यो जार बुलेट प्रुफ पनि छ।बीएसएफले सोमबार जारी गरेको विज्ञप्तिमा दक्षिण दिनाजपुर जिल्लाको हिली थानाको गेशपुर सीमा चौकी क्षेत्रमा बिहानै सीमामा अवैध तस्करी भएको खबर आएपछि घेराबन्दी गरिएको बताइएको छ । सम्बन्धित क्षेत्रमा खोजी गर्दा ‘मेड इन फ्रान्स’ लेखिएको जार बरामद भयो ।यसमा सर्पको विष भरिएको छ। पछि यसलाई बालुरघाट वन विभाग समक्ष हस्तान्तरण गरिएको छ। क्षेत्रमा जवानहरुको उपस्थितिको सुराग पाएपछि दुई तस्कर घटनास्थलबाट फरार भएको बीएसएफले जनाएको छ। तिनीहरुको खोजी भइरहेको छ । उल्लेखनीय छ, यसअघि पनि पटक-पटक सीमा क्षेत्रमा सर्पको विष यसरी बरामद भएको थियो ।