मुम्बईः ठाणे जिल्ला अधिनस्थ भिवण्डी शहरको वालपाड़ा क्षेत्रमा भएको वर्धमान बिल्डिङ दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या सोमवार बिहानसम्ममा आठ पुगिसकेको छ। मलबाबाट १८ जनालाई सुरक्षित निकालिसकिएको छ। यी सबैलाई उपचारको निम्ति ठाणेको उपजिल्ला अस्पतालमा भर्ती गरिएको छ। नेशनल डिजास्टर रेस्पन्स फोर्स (एनडीआरएफ)-का सब डिभीजनल अफिसर अमित सानपले बताए, मलबामा अहिले पनि केही मानिसहरू दबिएको आशंका छ। एनडीआरएफ र टीडीआरएफको टीमले बचाउ अनि उद्धार कार्य जारी राखेकोछ।
उक्त तीन तले भवन शनिवार दिउँसो १२ बजे ढलेको थियो। मृतकहरूमा दुईजनालाई छाड़ी अन्यको पहिचान नवनाथ सावन्त (४०), लक्ष्मीदेवी महतो (२६), सोना कोरी (४ साल ६ महिना), सुधाकर गवई (३४), प्रवीण चौधरी (२२) र त्रिवेणी यादव (४०)- को रूपमा गरिएको छ।
नारपोली पुलिसले बिल्डर इन्द्रपाल पाटिललाई पक्राउ गरिसकेको छ। यस भवनको निर्माण वर्ष २०१४-मा इन्द्रपाल पाटिलले गराएका थिए। यसको छतमा मोबाइलको टावर पनि राखिएको थियो। मुख्यमन्त्री एकनाथ शिन्देले प्रत्येक पीड़ित परिवारलाई पाँच-पाँ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिसकेका छन्। उनले भनेका छन्, घाइतेहरूको उपचार खर्च राज्य सरकारले वहन गर्नेछ।