खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनसको कुरा दशैंको समयमा मात्र होइन तर अहिलेदेखि नै बोनसको लागि पहल गर्नु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले बताएका छन्। उक्त कुरा उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको गौरी शंकर चियाबारीस्थित सार्वजनिक भवनमा सम्पन्न श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन्। प्रमुख अतिथिको रुपमा उपस्थित अनित थापाले आफ्नो सम्बोधनमा भने, हामीले श्रमिकको लागि काम गर्दा दशैंको समयमा मात्र गर्नु हुँदैन। दशैंको समयमा गाह्रो हुन्छ। म ट्रेड युनियनलाई निवेदन गर्छु कि श्रमिकहरूका पूजा बोनस दशैंको मुखैमा मात्र होइन तर अहिलेदेखि नै पहल गर्नु होस्। दशैंको मुखैमा पूजा बोनस नमिल्दा गाली खानुपर्छ। दशैंको बोनसको सभातिर युनियनले चियाबारी श्रमिकहरूको पूजा बोनस फस्ट फ्लसको सिजनमा नै बोनस तय गरिनुपर्छ भन्छ तर फस्ट फ्लसको सिजन सकिसक्यो अहिलेसम्म कुनै कुरा मै भएको छैन। त्यसैले चियाबारी श्रमिकहरूको पूजा बोनसक लागि अहिलेदेखि नै पहल गर्नु हवस। मई दिवसको दिन नेताहरूले ठूल्ठूलो घोषणा गर्ने गर्छन् तर म सक्ने र गर्नु सक्ने मात्र गर्छु। त्यसैले चियाबारी श्रमिकहरूको पूजा बोनसको लागि अहिलेदेखि नै युनियनले पहल गरेको होस् । श्रमिकहरूले ठूला ठूला कुरा मागेको छैन। तर उनीहरूका हाजिरा, बोनस र अवकाश भएपछि ग्राजुएटी र पीएफ समयमा नै पाउनुपर्छ। त्यो नै श्रमिकहरूका माग हो। यसको लागि युनियनले ध्यान दिनुपर्छ।”
अनित थापाले अघि भने, श्रमिकहरूका समस्या
माइकमा भाषण दिएर मात्र समाधान हुँदैन। श्रमिकहरूको समस्या एकैदिनमा समाधान हुने पनि होइन। आज मैले भागोप्रमो पार्टीको ट्रेड युनियनको प्रत्येक बगानको युनियनसित भेटघाट गरी चिनाजाना गरेको छु। युनियनको प्रत्येक युनिटको प्रतिनिधिहरूले दिनरात संघर्ष गरिरहेका छन्। श्रमिक संगठनहरूमा काम गर्ने सबै प्रतिनिधिहरूले पार्टीलाई बचाएर राख्नमा ठूलो भूमिका निर्वाह गरेको छ र उनीहरूले एक दिन मात्र होइन तर ३६५ दिन नै सम्मान पाएको हुनुपर्छ।’
उनले अझ भने, हामीलाई चिया श्रमिकहरूले नै जिताएर पठाएको हो र अब हामीले उनीहरूका लागि काम गर्नुपर्छ। बगानको सानो सानो समस्याहरू सबैले मिलेर समाधान गर्नुपर्छ।’
थापाले पर्चा पट्टा विषयमा बोल्दै भने, हामीले सरकारलाई बुझाएर बगानको लागि भनेर पर्जा पट्टा लिएर आएका हौं। तर पाउने बेलामा यहाँ ठूलो राजनीति हुँदैछ। तर पर्चा पट्टा बगानको लागि महत्वपूर्ण छ। श्रमिकहरूले पर्जा पट्टा पाएको खुशीमा धन्यवाद रैली निकाल्छ होला भनेको त उल्टै राजनीति भएर के के भयो यहाँ। श्रमिकहरूले पर्जा पट्टा पायो भने श्रमिकहरूले अनित थापालाई सदैव साथ दिन्छ भनेर विपक्षका नेताहरूले यसमाथि राजनीति गरिहेको छ र मिस लिट गरिरहेको छ। पहाड़मा लिडरहरू अरुको भूल देखाएर विरोध गर्नु मात्र भयो। विरोध गर्नलाई नै राजनीति गरिरहेका छन्। अरुको भूल खोज्दा खोज्दै आफ्नो काम भने बिर्सिसकेको छ।’
पञ्चायत चुनाव विषयमा अनित थापाले आगामी पञ्चायत चुनावमा पनि भागोप्रमो पार्टीलाई हराउन सबै लागि पर्ने बताउँदै भने, म हार र जीतको लागि निस्केको होइन तर सोचमा परिवर्तन गर्न निस्केको हो। अनित थापा हार र जीतको लागि होइन तर पहाड़को सोच परिवर्तन गर्न आएको हो। आगामी दिनमा श्रमिकहरूको निष्पक्ष रूपमा विवेक र बुध्दिको लडाईमा हाम्रो श्रमिकहरूका हक र अधिकारको लागि कार्य गर्ने आह्वान् गर्दछु।