गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले बेङलुरू एफसीमा ट्रायलको निम्ति छनौट भएका सिक्किमका तीन उदीयमान फुटबल खेलाड़ीहरूसॅंग भेट गरेका छन्। उनले सोमवार बिहान आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्। मुख्यमन्त्रीले जानकारी गराए अनुसार, नाम्ची स्पोर्ट्स होस्टेलका तीन फुटबल खेलाड़ी रोयल लिम्बू, बिनोद लिम्बू र पाल्जङ भोटिया बेङलुरू एफसीमा ट्रायलको निम्ति चयनित भएका छन्। बेङलुरू एफसी देशकै एउटा सबैभन्दा ठूलो फुटबल क्लब हो।
मुख्यमन्त्रीले भनेका छन्, फुटबल शारीरिक अनि मानसिक स्वास्थ्य सुधार गर्न, सामाजिक अनि टीमवर्क कौशल विकास गर्न तथा अनुशासन, फोकस र लक्ष्य-निर्धारण कौशल विकास गर्न एउटा उत्कृष्ट तरिका हो। उनले खेलाड़ीहरूलाई चयनको निम्ति शुभकामना व्यक्त गर्दै उनीहरू आफ्नो क्षेत्रमा दृढ़ रहनेछन् र सफल बन्नेछन् भनी आशा व्यक्त गरेका छन्।