उत्तर दिनाजपुर: पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाको हिंसा प्रभावित कालियागञ्जमा जनजीवन सामान्य अवस्थामा फर्किएको छ। तर, शान्ति सुरक्षा कायम गर्न ठूलो मात्रामा पुलिस परिचालन गरिएको छ । कालियागञ्जमा नहरबाट बालिकाको शव फेला परेपछि स्थानीयले हिंसात्मक प्रदर्शन गर्दै पुलिस चौकीमा तोडफोड गरेका थिए ।पुलिसको गोली लागेर एक युवकको मृत्यु भएको थियो। शान्ति सुरक्षाको दृस्टिकोणले तीन दिन अघि कालियागञ्जका केही भागमा बन्द गरिएको इन्टरनेट सेवा आइतबार साँझ ६ बजे पुनः सुचारु गरिएको पुलिस अधिकारीले जानकारी दिए। यद्यपि, फौजदारी कानून संहिता सीआरपीसीको धारा १४४ अन्तर्गत निषेधात्मक आदेशहरू लागू रहनेछन्। पुलिस अधिकारीले भने, ‘पछिल्ला दुई दिनमा अवस्था क्रमशः सुधार हुँदै गएको छ। बजार र पसलहरू खुला छन् र हामीले इन्टरनेट सेवाहरू पुनर्स्थापित गर्ने निर्णय गरेका छौं। तर, निषेधाज्ञा खारेज गर्ने निर्णय अर्को चरणको समीक्षापछि लिइने छ।
स्मरण रहोस,गत ११ अप्रेल घरबाट ट्युसन क्लास गएर बेपत्ता भएका बालिकाको शव नहरमा फेला परेको थियो । बालिकाको परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाएका छन् । बालिकाका बुबाले २० वर्षीय युवक विरुद्ध उजुरी दिएका थिए जसलाई पछि पक्राउ गरिएको थियो। बालिकाको शवको पोष्टमार्टममा पनि बलात्कार भएको पुष्टि नभएको भनी पुलिस पुलिस श्रोतले बताएको थियो। बालिकाको परिवारले यस विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई छानबिन गर्न अनुरोध गर्दै कलकत्ता उच्च अदालतमा उजुरी दिएका छन्।पुलिसको ‘निष्क्रियता’ को विरोधमा प्रदर्शनकारी भीडले कालियागञ्जपुलिस चौकीमा तोडफोड गरेको थियो।