गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा आफ्नो शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले मजदूर दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा भनेका छन्, ‘मई दिवस, जसलाई अन्तरराष्ट्रिय श्रमिक दिवस पनि भनिन्छ, राज्य र राष्ट्रको प्रगतिमा दिनहुँ उल्लेखनीय योगदान गर्ने श्रमिक वर्गहरूको दृढता र कडा परिश्रमलाई सम्मान गर्ने दिन हो।’
उनले भनेका छन्, ‘हामी हाम्रो श्रमशक्तिको ख्याल राख्छौ, यस कारण मेरो सरकारले कल्याणकारी उपायहरू लागू गरेको छ। सिक्किमको विकास र सफलतामा उनीहरूको योगदान र मूल्यलाई स्वीकार गर्छौं।’ मुख्यमन्त्रीले आफ्नो सन्देशमा श्रमिक वर्गको अधिकार र स्वतन्त्रताको संरक्षणका लागि राज्य सरकारको प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, ‘श्रमिक वर्गको कर्तव्य र भक्तिले जनताको जीवन सहज बनाउँछ।’ उनले श्रमशक्तिलाई राज्यको विकास यात्रामा सरकारसँग एकताबद्ध रहन आह्वान पनि गरेका छन्।