गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा आफ्नो शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले मजदूर दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा भनेका छन्, ‘मई दिवस, जसलाई अन्तरराष्ट्रिय श्रमिक दिवस पनि भनिन्छ, राज्य र राष्ट्रको प्रगतिमा दिनहुँ उल्लेखनीय योगदान गर्ने श्रमिक वर्गहरूको दृढता र कडा परिश्रमलाई सम्मान गर्ने दिन हो।’
उनले भनेका छन्, ‘हामी हाम्रो श्रमशक्तिको ख्याल राख्छौ, यस कारण मेरो सरकारले कल्याणकारी उपायहरू लागू गरेको छ। सिक्किमको विकास र सफलतामा उनीहरूको योगदान र मूल्यलाई स्वीकार गर्छौं।’
मुख्यमन्त्रीले आफ्नो सन्देशमा श्रमिक वर्गको अधिकार र स्वतन्त्रताको संरक्षणका लागि राज्य सरकारको प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, ‘श्रमिक वर्गको कर्तव्य र भक्तिले जनताको जीवन सहज बनाउँछ।’ उनले श्रमशक्तिलाई राज्यको विकास यात्रामा सरकारसॅंग एकताबद्ध रहन आह्वान पनि गरेका छन्।









