कालचिनीः शनिबार राती प्रायः ११.३० बजी आएको आएको आँधी बेह्रीले कालचिनी राङ्गामाटी रोड क्षेत्र साथै डिमा चियाबारी र भातखावा चियाबारीमा व्यापक क्षति पुऱ्यायो। आँधी बेह्री सहित दर्कने पानी र बज्रपातले मेचपाड़ा चियाबारीको धेरै सेक्सनहरूमा छाँयादार रुखहरू ढालेको थियो भने कालचिनी बजार संलग्न राङ्गामाटी रोड किनार ३ नम्बर चौपति क्षेत्रको दुईवटा बुढ़ो शिरीषको रुख ढल्दा दुईवटा फास्टफूडको दोकान क्षतिग्रस्त बनाएको थियो। राङ्गामाटी रोडको भाजपा कार्यालय नजीकै रहेको एउटा भर्खरै खोल्न तयार भएको फास्टफूड दोकानमा जरासितै पल्टिएको शिरीषको रुख ढल्दा उक्त दोकान पूर्णरुपले क्षतिग्रस्त बनेको थियो भने दोकानभित्र रहेको जम्मै नयाँ टेबल चेयर र रेफ्रिजरेटर नष्ट भएको पीड़ित दोकाने सुजीत लामा र तिनको श्रीमती पेमा डुक्पाले बताएका छन्।

अर्कोतिर अर्को एउटा बुढ़ो शिरीषको रुख ढल्दा राङ्गामाटी रोड स्थित खोलिएको नयाँ फास्टफूड रेस्टुरेन्टको छत र बरन्डा क्षतिग्रस्त बनेको थियो भने दुवै घटनामा कसैको ज्यान हताहत नभएको स्थानीय बासिन्दाहरूले जनाएका छन्।अर्कोतिर उही आँधी बेह्रीले डिमा चियाबारी र भातखावा चियाबारीको फ्याक्ट्री गोदामको छानो उड़ाउँदा गोदामको स्टफ रुममा राखिएको प्रायः २० हजार किलोग्राम ड्राई चियापत्ती पानीले नष्ट भएको छ भने दुवै चियाबारीको प्राय ८० लाख भन्दा अधिक सम्पत्ति नष्ट भएको सम्बन्धित चियाबारीको प्रबन्धनपक्षले बताएका छन्। आँधी बेह्रीले गंगुटिया चियाबारी स्थित प्राथमिक विद्यालय पनि पूर्णरुपमा क्षतिग्रस्त बनाएको स्थानीय बासिन्दाहरूले जनाएका छन्।

शनिबार राती आँधी बेह्रीले पुऱ्याएको क्षय क्षतिको निरीक्षण गर्न कालचिनी बीडीओ लगायत बन विभाग, बिजुली विभाग र पीडब्ल्यूडी विभागका अधिकारीहरू आइतबार विहान कालचिनी आईपुगेका थिए। यद्यपि भएको क्षय क्षतिको पुरन सम्बन्धित विभागले गर्छन वा गर्दैनन सो बारे कसैले केही टिप्पणी गरेका छैनन्। यसरी आँधी बेह्रीले बिजुलीको खाँबा र बिजुली तारहरू सबै चुँड़ाएकोले आइतबार दिनभरी कालचिनी राङ्गामाटी रोड लगायत डिमा, भातखावा, मेचपाड़ा र चुवापाड़ा क्षेत्रमा बिजुली परिसेवा ठप्प बनेको थियो भने बिजुली नभएकोले उपरोक्त क्षेत्रमा पिउने पानीको सङ्कट देखा परेको थियो। रुखहरू ढलेकोले आईताबार दिनभरी नै कालचिनी र चुवापाड़ा अनि सेन्ट्रल डुवर्स चियाबारीको यातायात बाधित बनेको थियो। कालचिनी ब्लक प्रशासन अनि बिजुली विभागले साँझसम्म सबै सामान्य भएर जाने आश्वासन दिएका छन्।