ला लीगाः बार्सिलोनाको साथमा रियल म्याड्रिड विजयी

IMG-20230430-WA0098.jpg

३० अप्रेलः स्पेनिश ला लीगा फूटबलमा शीर्ष दुईमा रहने बार्सिलोना र रियल म्याड्रिडले शनिवार राति आ-आफ्नो म्याच जित्यो। बार्सिलोनाले एकतर्फी म्याचमा दशजना खेलाड़ीमा सीमित रियल बेटिस विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट एण्ड्रिएस क्रिस्टेनसनले १४औं मिनटमा पहिलो गोल गरे। त्यसपछि शुरुमै सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा आउने एडगर गोञ्जालेजले ३३औं मिनटमा रेड कार्ड देख्दा रियल बेटिसको टीम दशजना खेलाड़ीमा सीमित भयो। विपक्षी टीम दशजना खेलाड़ीमा सीमित भएपछि बार्सिलोनालाई म्याच जित्न कुनै असुविधा भएन। रोबर्ट लेवाण्डोस्कीले ३६औं र राफिन्हाले ३९औं मिनटमा लगातार दुई गोल गरी बार्सिलोनालाई मध्यान्तरसम्म ३-०-ले अघि पारे। त्यसपछि रियल बेटिसका खेलाड़ी गुइगो रोड्रिगेजले ८२औं मिनटमा आत्मघाती गोल गर्दा बार्सिलोना ४-०-ले विजयी भयो। यस जीतपछि बार्सिलोना ३२ वटा म्याचमा ७९ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी छैटौं स्थानमा रहने रियल बेटिससँग ४९ पोइण्ट रहेको छ।

यसबीच गत सीजनको च्याम्पियन रियल म्याड्रिडले अल्मेरियालाई ४-२-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यूमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट दिग्गज फरवर्ड करीम बेञ्जेमाले ह्याट्रिक गरे। उनले पाँचौं, १७औं र ४२औं मिनटमा गोल गरे। अन्य एक गोल रोड्रिगोले ४७औं मिनटमा छिराए। म्याचमा लगातार ४ गोल खाएपछि चाहिँ अल्मेरियाले २ गोल गऱ्यो। अल्मेरियाबाट लाजारो र लुकास रोबर्टोनले गोल गरे। यस जीतपछि रियल म्याड्रिड ६८ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी अहिले शीर्ष स्थानमा रहने बार्सिलोनासँग रियलभन्दा ११ पोइण्ट अधिक रहेको छ। यसरी नै रियल सोसिएदादले ओसासुनालाई २-०-ले पराजित गऱ्यो। ओसासुनाका सर्जिओ हेरेराले छैटौं मिनटमा आत्मघाती गोल गरे। त्यसपछि टाकेफुसा कुबोले ९०औं मिनटमा गोल गरी रियल सोसिएदादलाई २-०-ले जीत दिलाए। रियल सोसिएदाद अहिले ५८ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी आठौं स्थानमा रहने ओसासुनासँग ४४ पोइण्ट रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा रायो भाल्लेकानोलाई एल्चेले ४-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement