खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा पानीको धेरै समस्या रहेको जानकारी प्राप्त भएको छ। विषेश गरी प्रत्येक वर्ष नोभेम्बर महिनादेखि यहाँ पानीको विकट समस्या देखापर्छ। यसबारे स्थानीय कल्पना देवानले बताए अनुसार दगोपापको समयमा नै यहाँदेखि धेरै टाढो मालुटार, फागुटार छेऊबाट ल्याइएको पानीले यहाँको सातवटा गाउँलाई पुर्याउनु पर्ने हुँदा अझ समस्या बढेको हो। देवान अनुसार चौध घरको निम्ति एउटा सानो हाइडेन राखिएको छ। त्यसमा पनि पानी आउँदैन। यहाँका मानिसहरू अहिले पानीको खोजीमा धेरै टाढा टाढा जानु पर्ने अवस्था छ। कलको अगाडी गाग्री, भुल्डुङहरूको ताँती लाग्ने गर्छ। नरबुङवासीले विगत धेरै दिनदेखि पानीको अभावमा काकाकुलीको जिन्दगी बिताउन परिरेछ। देवानले यहाँको पानीको समस्या समाधान गरिदिनको निम्ति राज्य अनि केन्द्र सरकार लगायत जीटीए अनि सम्बन्धित विभागसँग सम्पूर्ण गाउँलेहरूको पक्षबाट आग्रह पनि गरेकी छन्।