खरसाङ: खरसाङ खण्ड अन्तर्गत मेरियनबारी चियाबगानमा गत २४ अप्रेल २०२३ देखि जारी धरना प्रदर्शन आज छैटौं दिन जारी रह्यो। श्रमिकवर्गको पीएफ साथै ग्राजुएटीको रकम मालिक पक्षले भुक्तानी नगरेको साथै दैनिक हाजिरा एंव मासिक तलब समयमा भुक्तानी नगरेको भनी थालिएको धरणा आगमी २ मईदेखि रिले अनसनमा परिणत हुने तय थियो। तर आज मात्र सहायक श्रम आयुक्त खरसाङबाट त्रिपक्षीय वार्ताको निम्ति आगमी ४ मई २०२३ को दिन श्रमिक भवन, डागापुर सिलगढीमा डाकिएको हुनाले २ मईदेखि हुने रिले अनसनलाई वार्ता हुने दिनसम्मको निम्ति स्थगित गरिएको भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मेरियनबारी युनिटका सचिव बिनोद प्रधानले जानकारी गराएका छन्। उनले यसबारे जानकारी दिन्दै भने, ‘मालिक पक्ष यहाँका श्रमिकहरुले गरिरहेका धरणा प्रदर्शनको कारण केही हदसम्म झुकेको महसुस गरेका छौं। यद्यपि हामीले जुन मांग लिएर यो धरणा शुरु गरेका छौं, जबसम्म ती मांगहरु पूरा हुँदैन तबसम्म धरणा जारी रहनेछ र केवल वार्ताको दिनसम्म मात्र रिले अनसन स्थगित गरिएको हो।’ उनले अघि भने, मालिक पक्षले यहाँका श्रमिकहरुलाई हल्कामा लिएका छन्। तर हामी अब भने मालिकसित नझुक्ने र आफ्नो मांगमा अडिक रहनेछौं।’
मरियनबारी चियाबारीमा श्रमिकहरुले गरेको धरणा आज छैटौं दिन पनि जारी नै रहेको थियो। आजको धरणा प्रदर्शन कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु, सह-सचिव संजोग रोका, गाडीधुरा खण्ड समिति सभापति सुवास छेत्री लगायत श्रमिक संगठनका प्रतिनिधिगण उपस्थित रहेका थिए।