गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लुम्सेमा कञ्चनजङ्गा सेवा ट्रस्टको सेवा भवनको शिलान्यास एवम् भूमी पूजन गरे। उक्त भवन निर्माणको निम्ति राज्य सरकारले ९ हजार वर्गफुट जमीन संस्थालाई लिजमा दिएको हो। यस भवनको निर्माण कूल साढे ६ करोडको लागतमा गरिने बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले यति राम्रो र सुन्दर सिक्किमको सेवा गर्ने अवसर प्राप्त पाएकोमा खुशी प्रकट गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे। यस भवनको निर्माणले अवश्य पनि सिक्किमका जनताले लाभ पाउन सक्ने सम्भावना व्यक्त गरे। सेवाको भावनालाई अघि बढाउने उद्देश्यले यस भवनको निर्माण गरिने उनले जानकारी गराए।
सिक्किम जस्तो सुन्दर राज्यमा सबै जातिहरू मिलेर बसेकोमा उनले खुशी प्रकट गरे। हालै आफ्नो पाँच दिवसीय उत्तर जिल्लाको भ्रमण सकेर फर्केका राज्यपालले उत्तर जिल्लामा गएर धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताए। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले यस प्रकारको कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी प्रकट गर्दै कञ्चनजङ्घा ट्रस्टद्वारा निर्माण गरिने यस भवनले राज्यका मानिहरूलाई लाभ पुग्ने बताए। यो भवन व्यापारको निम्ति नभएर सेवा पुऱ्याउने उद्देश्यले निर्माण गरिने जानकारी गराए। यस भवनको निर्माणपछि राज्यको दुर्गम क्षेत्रका मानिसहरूले यहाँ आएर बस्न सक्ने बताए। विशेष गरेर चिकित्सा उपचारको निम्ति मनिपाल र एसटीएनएम अस्पताल आउने मानिसहरूले यस भवनको लाभ उठाउन सक्ने जनाए। यसरी नै यो भवनमा विभिन्न प्रकारको कार्यक्रम आयोजना गर्न सकिने भएकाले यसको निर्माण कार्य पूरा भएपछि विभिन्न दृष्टिकोणबाट यसको लाभ उठाउन सक्ने मुख्यमन्त्री तामाङले मन्तव्य प्रकट गरे। यस ट्रस्टले हालसम्म उल्लेखनीय कार्य गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने उनले आशा व्यक्त गरे। उक्त भवनको निर्माण कार्यमा सबैले सहयोग पुऱ्याउनु पर्ने मुख्यमन्त्रीले सबैलाई आग्रह पनि गरेका छन्। सो भवन निर्माणको निम्ति राज्य सरकारले जमीन उपलब्ध गराएको र ट्रस्टले यसको निम्ति लिज एमाउन्ट दिने जानकारी गराए। यसै प्रकारले ट्रस्टका अध्यक्ष डीसी नेपालले यो संस्थाले राज्यमा वर्ष २०१० देखि सक्रियरूपमा काम गर्दै आइरहेको बताए। राज्य सरकारमा यसको पञ्जीकरण वर्ष २०१३ मा भएको जानकारी गराउँदै हालसम्म संस्थाले राज्यको हितमा गरेका विभिन्न प्रकारको गतिविधिबारे उनले विस्तृतरूपमा अवगत गराए।