गान्तोकः भारतीय सेनामा सेवा पुऱ्याएका पूर्व सैनिक कर्मचारी, बीर नारी र उनीहरूका परिवारलाई प्रदान गरिने पेन्सनमा समान्ताको माग गर्दै पूर्व सैनिकहरूले पछिल्ला ७७ दिनदेखि जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यसै क्रममा आफ्नो आवाजलाई दह्रिलो रुपमा राखेर सरकारलाई माग पूरा गर्न दबाउ बनाइरहेका सिक्किमका पूर्व सैनिकहरूले मागकै एउटा भाग स्वरुप लोकसभा सांसद इन्द्रहाङ सुब्बालाई ज्ञापन चढाएका छन्।शनिवार सिक्किमको विभिन्न स्थानबाट भेला भएका पूर्व सैनिकहरूले गान्तोकको सरकारी निवासमा सांसद इन्द्रहाङ सुब्बालाई भेट गरेर पेन्सनमा समान्ताको माग गर्दै ज्ञापन बुझाएका हुन्। देशका सबै राज्यमा रहेका पूर्व सैनिकहरूले भोली ३० अप्रेलका दिन आ-आफ्नो क्षेत्रका सांसदलाई ज्ञापन बुझाउने पूर्वनिर्धारित कार्यक्रम रहेको तर सिक्किमका लोकसभा सांसद भोलि गान्तोकमा नरहने भएका कारण आज नै ज्ञापन बुझाएको पूर्व सैनिकहरूले जानकारी दिएका छन्।
पूर्व सैनिक सङ्गठन सिक्किमका महासचिव एपी राईले सिक्किमका प्रत्येक जिल्लापाल कार्यालयको माध्यमबाट गत 3 अप्रेलका दिन नै राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्री समक्ष यो माग पठाइएको र आज लेकसभा सांसद मार्फत पनि यो माग केन्द्र सनकारमा पाठाइने पहल गरिएको बताए। उनले जानकारी दिए अनुसार, वान ऱ्याङ्क मान पेन्सन पूर्व सैनिकहरूको लामो माग थियो। यस मागलाई एनडीए सरकारले २०१४ लागू गऱ्यो तर यस भित्र असमान्ता रहेका कारण पूर्व सैनिकहरूले आन्दोलन गरिरहेको छन्। २०१३ को पेन्सन र यसपछिको पेन्सनमा घटी-बढी भएको साथै सातौं वेतन आयोगका कारण यो गडबडी भएको बताउँदै सबैले एकबद्द भएर सुधारको माग गरेको र ७७ दिनदेखि जन्तर-मन्तरमा आन्दोलन भइरहेको एपी राईले बताए। आफूलाई भेटेर पूर्व सैनिकहरूले चडाएको ज्ञापनलाई राष्ट्रपति, प्रधाननमन्त्री र रक्षा मन्त्री मार्फत भारत सरकारसम्म पुऱ्याएर उनीहरूको समस्या समाधानमा तत्काल पहल गर्ने सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। उनले भोलि नै यस ज्ञापनलाई स्पिड पोस्ट मार्फत भारत सरकारमा पठाउने र पछि दिल्ली गएको समय रक्षा मन्त्रीलाई पनि यो ज्ञापन सुम्पिने सांसद इन्द्रहाङ सुब्बाले वचन दिएका छन्।