२९ अप्रेलः प्रदर्शनकारी पहलवानहरूका निम्ति लगातार बढ़िरहेको समर्थनबीच दिल्ली पुलिसले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का प्रमुख बृभूषण शरण सिंह विरुद्ध सात महिला पहलवानहरूद्वारा लगाइएको यौन उत्पीड़नको आरोपहरूका क्रममा शुक्रवार दुईवटा प्राथमिकी (एफआईआर) दर्ता गऱ्यो। दिल्ली पुलिसको तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले प्रधान न्यायाधीश डीवाई चन्द्रचुड़ र न्यायमूर्ति पीएस नरसिम्हाको उच्चतम न्यायालयको पीठलाई प्राथमिकी दर्ता गरिएको जानकारी दिए। पहिलो प्राथमिकी एक अवयस्क पहलवानका आरोपहरूमा पोस्को कानूनअन्तर्गत दर्ता गरिएको छ भने दोस्रो मर्यादालाई ठेस पुऱ्याएको सम्बन्धमा। डब्ल्यूएफआई अध्यक्ष विरुद्ध दर्ता गरिएको प्राथमिकीलाई जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका पहलवानहरूले जीतको दिशामा पहिलो कदम बताएका छन्। यसको साथमा उनीहरूले भारतीय जनता पार्टीका यस सांसदलाई उनको सबै पदहरूबाट नहटाइञ्जेल आफ्नो विरोध प्रदर्शन जारी राख्ने दावी गरेका छन्।
डब्ल्यूएफआई प्रमुखमाथि यौन उत्पीड़न अनि आतंक फैलाएक आरोप लगाउने पहलवानहरूले २३ अप्रेलमा आन्दोलन फेरि शुरु गरेपछि बृजभूषण विरुद्ध प्राथमिकी दर्ता गर्ने माग गरिरहेका थिए। फिल्म जगतदेखि लिएर खेल जगत अनि अहिले राजनैतिक स्तरमा पनि धेरैले प्रदर्शनकारी पहलवानहरूको समर्थन गरिरहेका छन्। ओलम्पिक स्वर्ण पदक विजेता नीरज चोपड़ा र अभिनव बिन्द्राले पनि तुरन्त कार्वाहीको माग गरेका छन्। पहलवानहरूका समर्थन गर्ने खेलाड़ीहरूमा चोपड़ा र बिन्द्रा बाहेक बक्सर निकहत जरीन, टेनिस स्टार सानिया मिर्जा, हकी स्टार रानी रामपाल, क्रिकेटर विरेन्द्र सहवाग, हरभजन सिंह, इरफान पठान र मदन लाल पनि सामेल छन्।