गान्तोकः आगामी २९-३० अप्रेलको दिन राजधानीस्थित मनन केन्द्रमा दुई दिवसीय सी२० शिखर सम्मेलन सम्पन्न हुने भएको छ। उक्त कार्यक्रमको उद्घाटन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्नेछन्। यसैगरी, समापन कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिका रूपमा उपस्थिति रहनेछन्।
राजधानीस्थित एक होटलमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सी२० समन्वयक डा. मनीषा सुधीरले उक्त कार्यक्रम सिक्किम सरकार र अमृता विश्वविद्यापिठम, केरलाको संयुक्त प्रयासमा आयोजना गरिने अवगत गराइन्। उक्त कार्यक्रममा २२ देशका दुई सयभन्दा अधिक प्रतिनिधिहरूले सहभागिता जनाउने छन्। दुई दिवसीय सम्मेलनमा जलवायु, पर्यावरण रिसाइलेन्ट कम्युनिटिज लगायत अन्य विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा साथै प्रस्ताव राख्ने उनले बताएकी छन्। यसै क्रममा राज्यका भू-राजस्व एवम् आपदा प्रबन्धन विकास विकास विभागका सचिव अनिल राज राईले राज्यका हितधारकहरूलाई एउटा राम्रो मञ्च प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए। उनले यस कार्यक्रमबाट राज्यका हितधारकहरूले धेरै लाभ उठाउन सक्ने मन्तव्य प्रकट गरे। उक्त कार्यक्रममा राज्यबाट २ हजारभन्दा अधिक हितधारकहरूले सहभागिता जनाउने उनले सम्भावना व्यक्त गरे।










