जलपाइगढी: स्थानीय महिलाहरूले बिहीबार, पारिवारिक रेस्टुरेन्टको आडमा अवैध मदिरा बिक्री गरेको आरोपमा विरोध प्रदर्शन गरे। घटना मैनागढी ब्लकको खगराबारी १ ग्राम पञ्चायत क्षेत्रको हो। खगराबारी १ ग्राम पञ्चायत क्षेत्रमा रेस्टुरेन्ट खोल्ने काम भइरहेको स्थानीयको गुनासो छ। परिवारिक रेस्टुरेन्ट सञ्चालन गर्ने नाममा होटलका कर्मचारीले अवैध मदिरा कारोबार गरिरहेको आरोप छ। यसले यस क्षेत्रको युवा समाजलाई धरासायी बनाइरहेको यस क्षेत्रका महिलाहरूले गुनासो समेत गरेका छन्। जसका कारण यस विषयमा होटल प्रशासनलाई पटकपटक जानकारी गराइएको थियो। त्यतातिर ध्यान दिएनन्। त्यसैले उनीहरूले केही महिनाअघि होटल अगाडि पोस्टर टाँगेर विरोध प्रदर्शन शुरू गरे। स्थितिमा सुधार नआएपछि बिहीबार फेरि उक्त क्षेत्रका महिलाहरू भेला भएर विरोध प्रदर्शन गरे। महिलाहरूले होटलभित्र पसेर एक बोतल देशी रक्सी बरामद गरे। रक्सी फ्याँकेर होटलमा ताला लगाईदिए। स्थानीय महिला मालती रायले भनिन्, “मदिराको व्यवसाय चलाएर हाम्रो युवा समाज बर्बाद हुँदै गइरहेको छ, त्यसैले हामीले फेरि विरोध गर्दै होटलमा ताला लगायौँ।” स्थानीय पञ्चायत सदस्या मञ्जु अधिकारीले भनिन्, “यसबारे धेरै गुनासो आएको थियो, तर प्रमाण थिएन। आज होटलमा आएर आफ्नै आँखाले सबै देख्यौ, प्रशासनले उचित कारबाही गरोस्।” तर, होटल प्रशासनबाट भने कुनै प्रतिक्रिया आएको छैन। घटनाको जानकारी पाउनसाथ मैनागढी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। त्यहाँबाट पुलिसले केही रक्सी जफ्त गरेको छ।










