खरसाङ: कालेबुङ जिल्ला अस्पतालको विभिन्न पदहरुमा बाहिरका मानिसहरूले नियुक्ति पाएको आरोप हिजो हाम्रो पार्टीले लगाएका थिए। आज यही आरोपमाथि आफ्नो प्रतिक्रिया दिँदै जीटीए चिफ् अनित थापाले भने, “स्वास्थ्य विभागमा कति जनाले नौकरी पाएका छन् मैले सम्बन्धित अधिकारीलाई सार्वजनिक गर्नु निर्देश दिएको छु। कसरी अन्तरवार्ता भएको थियो त्यो पनि सार्वजनिक हुनेछ। ८० प्रतिशत नोकरी स्थानीयले नै पाएको छ।”
थापाले थप भने, “जहाँ जहाँ रिक्त पदहरू छन् त्यसको निम्ति आवेदन माग्दैछौं। नोकरी पाउनुको निम्ति आफ्नै सिस्टम छ। त्यही सिस्टम अनुसार नोकरी दिइँदैछ। जसले परीक्षा पास गर्नेछ उसैले नोकरी पाउनेछ।”
यही विषयमा परिवार अनि स्वास्थ्य विभागका एक्जिक्युटिभ डाइरेक्टर सामदेन डुक्पाले हाम्रो पार्टीको आरोपको खण्डन गर्दै भने, ” जसले पनि कालेबुङ जिल्ला अस्पतालमा बाहिरको मान्छेलाई नोकरी दियो, स्थानीयले पाएनन् भनेर भन्दैछन्, त्यो झुट हो। जसले पनि आरोप लगाउदैछन् उनीहरूले सही तथ्य दिएका छैनन्। “
उनले सुझाव दिन्दै भने कि जसले पनि आरोप लगाए उनीहरुले आरटीआई गरेर सही तथ्य मगाउनु सक्नेछन्। डुकपा अनुसार स्वास्थ्य विभागमा नोकरीको निम्ति गरिने सबै परीक्षा सम्बन्धित जिल्लापालको रेखदेखमा हुन्छ। पदको टर्मस् अफ् रिफरेन्स अनुसार आवेदन लिइन्छ। तक्निकी योग्यता भएका स्थानीय उम्मेदवार पाउनु कठिन हुनाले तक्निकी पदमा जीटीए क्षेत्रदेखि बाहिरका नै नियुक्त हुन्छन्। उनले पद अनि नियुक्तिको विश्लेषण गर्दै भने, “दार्जिलिङमा मात्र २१३ जनामध्ये स्थानीयहरु ११३ जना कार्यरत छन्। बाहिर घर हुनेहरू ४२ जना छन्। कालेबुङ एएचमीमा १०६ पदमा स्थानीय ८३ जना नियुक्त भएका छन्।”